काठमाडौँका स्थानीय तहमा कांग्रेसको अधिवेशन : पत्रकार पनि उम्मेदवार 

काठमाडौँका स्थानीय तहमा कांग्रेसको अधिवेशन : पत्रकार पनि उम्मेदवार 

काठमाडौँ : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत काठमाडौँका स्थानीय तहमा आज अधिवेशन भइरहेको छ।

काठमाडौँ महानगरपालिकाको अधिवेशन राष्ट्रिय सभा गृहमा भइरहेको छ। महानगरको सभापतिमा नीलकाजी शाक्य र प्रगतिमान रञ्जितले उम्मेदवारी दर्ता गराउँदै छन्।

काठमाडौँ महानगरपालिका २५ का वडाध्यक्ष शाक्य र नेपाल तरुण दल काठमाडौँका संस्थापक अध्यक्ष रञ्जित  सभापतिमा उम्मेदवारी घोषणा गरी प्रचार अभियानमा लागेका छन्। महानगरमा दुई नेताबीच प्रतिस्पर्धा हुनेछ।

महानगरमा १३२५ क्षेत्रीय प्रतिनिधि छन्। १८/२० जना प्रतिनिधिको नाममा विवाद भएको छ।

महानगरको सदस्य पदमा पत्रकारले पनि उम्मेदवारी दिने भएका छन्।  

नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम समृद्धितर्फ हाम्रो यात्राकी प्रस्तोता रोजी ढकाल पराजुलीले सदस्य पदमा उम्मेदवारी दिन लागेको बताइन। 

काठमाडौँमा करिब १३ वर्षपछि महानगर अधिवेशन हुन लागेको हो। महानगरका ३२ वडाबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि, वडा सभापति, पार्टीका तर्फबाट निर्वाचित सांसद, प्रदेशसभा सदस्य, पार्टीबाट सांसद र प्रदेशसभा सदस्यमा उम्मेदवार भएका पदेन प्रतिनिधि निर्वाचन प्रक्रियामा सहभागी भएका छन्। 

चन्द्रागिरि, गोकर्णेश्वर, कीर्तिपुर, नागार्जुन, तारकेश्वर, टोखा, बुढानीलकण्ठ, कागेश्वरी मनोहरा र शङ्खरापुर नगरपालिकामा पनि आज नगर अधिवेशन हुँदैछ। दक्षिणकाली नगरपालिकामा भने विवादका कारण स्थगन गरिएको छ।

असोज १६, २०७८ शनिबार १२:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।