अनलाइन ठगी धन्दा : १ लाख २० हजार लिने दुई जना पक्राउ
काठमाडौँ : नेटवर्किङ व्यापारको नाममा अनलाइन ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
भारतको सिलिगुढीमा रहेको इम्पोरियम मार्केटिङ प्रा.लि.सँग सम्पर्क राखेर पिरामिड शैलीको सदस्य बनाई शुल्क लिने काभ्रे धुलिखेलका नवराज गौतम र रामेछाप खाँडादेवीका विनोद महतेलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरूले इम्पोरियम मार्केटिङको सदस्य बनेमा लाइफ बन्ने, कम्पनीमा राम्रो जागिर मिल्ने र अन्य सदस्य बढाउँदै गएपछि घरमा बसेर पैसा कमाउन सक्ने प्रलोभन दिएर रकम असुलेको प्रहरीले जनाएको छ।
विनोद महतेले सदस्यता लिन आइएमइ मार्फत ३७ हजार २६० पठाउन लगाई लिएको, नगद ९ हजार लिएको र रविकुमार राईको बैङ्क खातामा ७४ हजार ७५ रुपैयाँ समेत गरी पीडितबाट १ लाख २० हजार ठगी गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग बबरमहल काठमाडौँमा पठाइएको छ।
असोज १५, २०७८ शुक्रबार २०:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।