स्वास्थ्य मापदण्ड पालना गरी हुने काममा प्रशासनले अवरोध नगर्ने
काठमाडौँ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी हुने काममा कुनै अवरोध नरहने जनाएको छ।
कार्यालयले आज विज्ञप्ति निकालेर बिहीबार जारी आदेशको बुँदा नम्बर १ मा उल्लेखित विषयमा सार्वजनिक रूपमा भएको चासो, चिन्ता र अभिव्यक्तिबारे ध्यानाकर्षण भएको जनाएको छ।
बुँदा नम्बर १ मा कोभिड–१९ सङ्क्रमण कायमै रहेको हुँदा अनावश्यक रूपमा मानिस घरबाहिर निस्कने, जम्मा हुने, भिडभाड गर्ने, सभा, जुलुस गर्ने, जात्रा महोत्सव भोज आदि नगर्ने/नगराउने उल्लेख छ।
उक्त आदेशले कुनै पनि प्रकारका सभा, सम्मेलन, धार्मिक तथा सांस्कृतिक मेला, जात्रा, पर्वलगायत चाडपर्व लक्षित अन्य क्रियाकलाप गर्दा स्वास्थ्यको मापदण्ड पालना गरी गर्न/गराउन कुनै बन्देज नलगाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले विज्ञप्ति निकालेर जानकारी दिएको हो।
बिहीबार जारी आदेश कोभिड–१९ सङ्क्रमण फैलिन नदिनका लागि पालना गर्नुपर्ने मापदण्ड र पूर्वसतर्कताका सम्बन्धमा मात्र भएको विज्ञप्तिमा लेखिएको छ।
असोज १५, २०७८ शुक्रबार १९:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।