ओली सरकारको निर्णयविरुद्ध १५ पूर्व आइजिपी एकै ठाउँमा, तालिम केन्द्र नसार्न भेटे प्रधानमन्त्रीलाई

ओली सरकारको निर्णयविरुद्ध १५ पूर्व आइजिपी एकै ठाउँमा, तालिम केन्द्र नसार्न भेटे प्रधानमन्त्रीलाई

ओली नेतृत्वको सरकारले २०७५ भदौ २१ मा राष्ट्रपति कार्यालयलाई सुविधा सम्पन्न बनाउन भन्दै प्रतिष्ठानको नाममा रहेको एक सय १४ रोपनी जग्गा राष्ट्रपति कार्यालयको नाममा नामसारी गर्ने र १८ महिनाभित्रमा प्रतिष्ठान काभ्रेको पनौतीमा सार्ने निर्णय गरेको थियो।

पनौतीमा भारत सरकारको सहयोगमा प्रहरीका लागि आधुनिक प्रशिक्षण स्थल बनाउने भनिए पनि निर्माणको काम नै अगाडि बढेको छैन। तर सरकारले अस्थायी संरचना बनाएर भए पनि प्रतिष्ठान सार्ने तयारी गरेको थियो।

राष्ट्रपतिको सुरक्षाको जिम्मेवारी लिएको नेपाली सेनाको योजनामा प्रतिष्ठानमा हेलिप्याड लगायतका संरचना बनाउने योजना अगाडि बढेको थियो। तत्कालीन समयमा यसबारे प्रहरी नेतृत्वले असन्तुष्टि जनाउँदा प्रहरीको तालिमले राष्ट्रपतिलाई डिस्टर्व हुने गरेकाले त्यहाँबाट सार्नुपर्ने जवाफ आएको थियो।

ओली नेतृत्वको सरकार बदलिएसँगै नेपाल प्रहरीका १४ जना पूर्व प्रहरी महानिरीक्षकहरू एकजुट भएर सरकारको सो निर्णय उल्टाउन सक्रिय भएका छन्। प्रहरी प्रशिक्षण प्रतिष्ठान जोगाउन पूर्व आइजिपी मोतीलाल बोहराको नेतृत्वमा नेपाल प्रहरी पूर्व सङ्गठन प्रमुख मञ्च बनाएर उनीहरूले ओली नेतृत्वको सरकारले गरेको निर्णय उल्टाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ज्ञापन पत्र समेत बुझाएका छन्।

बुधवार बुझाएको पत्रमा सरकारको सो निर्णयले दूरगामी रूपमा नकारात्मक एवं प्रत्युत्पादक असर पुर्याउने देखिएको उल्लेख गर्दै सो निर्णय कार्यान्वयन भए प्रहरीको मनोबलमा प्रतिकुल प्रभाव पर्ने उल्लेख गरिएको छ।

ज्ञापन पत्रमा प्रतिष्ठानको ऐतिहासिक महत्त्व र त्यहाँ रहेका प्रहरीका महत्त्वपूर्ण कार्यालयबारे उल्लेख गर्दै सो संरचनाको स्वामित्व नेपाल प्रहरीलाई दिन आग्रह गरिएको छ। पत्रमा प्रहरी प्रशिक्षण प्रतिष्ठान नामकरणपछि स्मारक स्तम्भको उद्घाटन २०४९ माघ २९ मा गृहमन्त्रीको रूपमा देउवाले नै गरेको समेत उल्लेख गरिएको छ।

पूर्ववर्ती सरकारले गरेको निर्णयले पूर्व प्रहरी महानिरीक्षकहरू स्तब्ध भएको भन्दै पूर्व प्रहरीसँगै बहालवाला ८० हजार प्रहरीको सामूहिक भावना अनुसार सो निर्णयको बदरको माग गरेका छन्।

ज्ञापन पत्रमा पूर्व आइजिपीहरू दुर्लभ कुमार थापा, मोतीलाल बोहरा, अच्युतकृष्ण खरेल, ध्रुवबहादुर प्रधान, प्रदीप शमशेर राणा, श्यामभक्त थापा,ओम विक्रम राणा, हेमबहादुर गुरुङ, रमेश चन्द ठकुरी,रवीन्द्र प्रताप शाह, कुवेर सिंह राना, उपेन्द्रकान्त अर्याल, प्रकाश अर्याल, सर्वेन्द्र खनाल र ठाकुर ज्ञवालीको नाम छ।

साउन २०, २०७८ बुधबार २०:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।