बिपी प्रतिष्ठानका चारै जना पदाधिकारी हटाउने सहमति

बिपी प्रतिष्ठानका चारै जना पदाधिकारी हटाउने सहमति

प्रतिष्ठान शुद्धीकरणको माग राखी ५१ दिनदेखि आन्दोलनरत समूह र मन्त्रालयको वार्ता टोलीबीच सहमति भएको हो।

सहमतिपछि संघर्ष समितिले गत शनिबार घोषणा गरेको सेवा बाहिष्कारलगायत आन्दोलनको कार्यक्रम स्थागित गरिएको छ। सरकारले गठन गरेको समस्या पहिचान तथा छानबिन कार्यदलको प्रतिवेदनबमोजिम सुझाव कार्ययोजनाको समय सीमाभित्र कार्यान्वयनमा लैजाने साथै यसअघि बनेका प्रतिवेदन सार्वजनिक गरी कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयमा एक महाशाखा आजै तोक्ने सहमति भएको छ। 

प्रतिष्ठान ऐन २०४९ को दफा ११ (घ)मा व्यवस्था भएअनुसार चारै जना पदाधिकारी हटाउन सकिने व्यवस्थामा उल्लेख प्रक्रिया आजैबाट सुरु गर्ने सहमतिपत्रमा उल्लेख छ। अबदेखि प्रतिष्ठानमा पदाधिकारी नियुक्तिको लागि मापदण्डसहितको कार्यविधि तर्जुमा गर्ने पनि सहमति भएको छ।

यस्तै, प्रतिष्ठानसँग सम्बन्धित अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत निकायमा विचाराधीन उजुरी तथा मुद्दाको कारबाहीको प्रक्रियाका अवस्था बुझेर शीघ्र फछ्योटको लागि मन्त्रालयमा तोकिएको महाशाखाले समन्वय एवं सहजीकरण गर्ने पनि सहमति भएको छ। 

प्रतिवेदनमा उल्लेख भएबमोजिम प्रतिष्ठानमा भएको बेथिति, अनियमितताको विषयमा छानबिन गरिने भएको छ। अबको सञ्चालन परिषदले संयुक्त संघर्ष समितिको पनि प्रतिनिधित्व हुने गरी अधिकारसम्पन्न उच्चस्तरीय आयोग बनाउने सहमति भएको छ।

साउन २०, २०७८ बुधबार १७:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।