एकता प्रक्रियाबारे छलफल गर्न नेपालले बोलाए आफू निकट केन्द्रीय सदस्यको बैठक
काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो पक्षका केन्द्रीय सदस्यको बैठक बोलाएका छन्।
बुद्धनगरस्थित क्वालिटी ब्यांकेटमा भोलि (बुधबार) बिहान ११ बजे बोलाइएको बैठकमा पार्टी एकताबारे छलफल गरिने एक नेताले जानकारी दिए।
एकताका निम्ति भएको १० बुँदे सहमतिका विषयमा नेपालले आफूनिकट स्थायी कमिटी सदस्य र सांसदसँग छलफल गरिसकेका छन्।
एमाले ब्युँतिएयता पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच तीव्र विवाद छ।
एमाले ब्युँतिएपछि संसदीय दल र पार्टीमा बहुमत भएको ओली पक्षले एकपक्षीय निर्णय गरेको भन्दै वरिष्ठ नेता नेपाल पक्षले असन्तुष्टि जनाएको थियो। त्यसयता सुरु भएको विवाद नेपाल पक्षले जनसंगठन र भ्रातृ संगठनमा समानान्तर कमिटी गठन गरेपछि झन बढेको थियो।
पार्टी विवाद टुंगो लगाउन दुवै पक्षका दोस्रो तहका नेता क्रियाशील भए पनि सफल हुन सकेका छैनन्।
साउन १९, २०७८ मंगलबार २०:२८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।