प्रहरीको हेडक्वार्टरमा भएको परीक्षाकै प्रश्नपत्र लिक भयो, छानबिन गर्न टोली गठन
काठमाडौँ : राष्ट्र सङ्घको शान्ति मिसनमा सहभागी गराउन प्रहरी प्रधान कार्यालयभित्र लिइएको परीक्षाको प्रश्नपत्र आउट भएको छ। संयुक्त राष्ट्र सङ्घको शान्ति मिसनमा सहभागी हुन इच्छुक प्रहरी कर्मचारीको छनाेटका लागि शनिबार प्रहरी प्रधान कार्यालयभित्रै १ हजार ४ सय प्रहरी कर्मचारीको प्रिस्याट परीक्षा लिइएको थियो। प्रिस्याटमा उत्तीर्ण भएपछि स्याट परीक्षामा सहभागी भएर मिसनमा जाने प्रहरीको छनाेट हुने गर्छ।
प्रहरी प्रधान कार्यालयमा रहेको युएन मिसन हेर्ने शाखाले लिएको परीक्षामा परीक्षा सुरु हुनुअगाडि नै प्रश्नपत्र लिक गराइएको थियो। प्रिस्याटमा सहभागीमध्येबाट अधिकतम साढे २ सय राष्ट्र सङ्घबाट आउने टोलीले लिने परीक्षामा सहभागी हुन पाउँछन्। सो टोलीले लिएको परीक्षामा उत्तीर्ण भए मात्र मिसनमा सहभागी हुन पाइने नियम छ।
जानकार स्रोतका अनुसार परीक्षा सुरु हुनुअगाडि नै कन्प्रिह्यान्सिभ र रिपोर्ट राइटिङमा के आउँदै छ भन्ने बाहिरिएको थियो। 'परीक्षा अगाडि नै सुटिङसम्बन्धी कन्प्रिह्यान्सिभ र रिपोर्ट राइटिङ आउने लिक भइसकेको थियो। प्रश्नपत्रमा पनि त्यही आयो।'
आफू निकटकालाई उत्तीर्ण गर्न प्रश्नपत्र लिक गराएको भन्दै केही परीक्षार्थीले गुनासो गरेपछि परीक्षा एक घण्टा ढिला भएको थियो। तर, परीक्षा स्थगित भएन। परीक्षामा जुन प्रश्न आउँछ भनेको त्यही आएपछि प्रहरी महानिरीक्षकको सचिवालयले छानबिन सुरु गरेको छ।
प्रहरी प्रवक्ता वसन्त कुँवरले परीक्षामा प्रश्नपत्र लिक भएको गुनासो आएपछि केही समय परीक्षा ढिला गरेर लिएको जानकारी दिए। उनले प्रहरीको परीक्षाबारे नै गुनासो आएकाले भएको के हो सो छानबिन गर्न समिति गठन भइसकेको बताए।
उनले भने, 'गुनासो आएपछि त्यसबारे छानबिन गर्न समिति गठन भइसकेको छ। लिक भएको हो हैन समितिले पत्ता लगाउँछ।'
पहिलो पटक हैन लिक भएको
यसअगाडि राष्ट्रसंघीय मिसनका प्रतिनिधि नै आएर लिएको परीक्षाको समेत प्रश्नपत्र लिक भएको थियो। पाँच वर्षअगाडि सशस्त्र प्रहरीको हेडक्वार्टर भएको स्याट परीक्षाकै प्रश्नपत्र मिलेमतोमा बाहिरिएको थियो।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका कर्मचारीको योग्यता परीक्षण परीक्षाकै प्रश्नपत्र लिक भएको र सो काम सशस्त्र प्रहरीका कर्मचारीले गरेको पुष्टि भएपछि परीक्षा नै रद्द भएको थियो।
सो प्रकरणमा नेपाल प्रहरीका ५ सय र सशस्त्रका ३ जना कर्मचारी संलग्न रहेको परीक्षाका लागि १२ र ३ बजे परीक्षाको समय तोकिएकोमा १० बजे नै प्रश्नपत्र बाहिरिएको र अन्तर्राष्ट्रिय टोली बसेर फोटोकपी गरेर प्रश्नपत्र आफूसँगै लिएर हिँडे पनि सशस्त्रले फोटोकपी गरिएका सामग्रीको डिजिटल कपी कम्प्युटरमा रेकर्ड बस्ने पद्धति रहेकोबारे जानकार सशस्त्रका कर्मचारी प्रश्नपत्र लिक गरेर भाइबरमार्फत परीक्षार्थीलाई पठाएको खुलेको थियो।
साउन १९, २०७८ मंगलबार १७:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।