एमालेका चार सांसद पदमुक्त हुँदा कर्णालीका मुख्यमन्त्री सुरक्षित !
सर्वाेच्च अदालतले एमालेका चार सांसदलाई पदमुक्त गरेपछि ३५ सदस्यमा झरेको प्रदेशसभामा माओवादी केन्द्र र कांग्रेसका १८ सांसद छन्, जुन प्रदेश सभाको कूल सदस्य संख्याको बहुमत हो।
४० सिट रहेको प्रदेश सभामा यसअघि ३९ सांसद थिए। यसअघि माओवादी केन्द्रले पार्टीबाट निष्कासन गरेपछि सांसद धर्मराज रेग्मी पदमुक्त भएका थिए।
सर्वोच्चले सोमबार सांसदहरू प्रकाश ज्वाला, नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई पदमुक्त गर्ने एमालेको निर्णय सदर गरेको हाे।
अब प्रदेश सभामा एमालेका सभामुखसहित १६, माओवादी केन्द्रका १२, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन्।
गत वैशाख ३ गते ती चार सांसदले फ्लोर क्रस गरी माओवादी केन्द्रका संसदीय दलका नेता महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि एमालेले उनीहरूलाई पदमुक्त गरेको थियो। त्यसको भोलिपल्ट मुख्यमन्त्री शाहीले ज्वाला बाहेकलाई मन्त्रीमा नियुक्त गरेका थिए।
पदमुक्त भएपछि पुनर्बहालीकाे माग गर्दै उनीहरूले सर्वाेच्चमा रिट दायर गरेका थिए। त्यसपछि गत जेठ २७ गते सर्वोच्चले ती चार सांसदलाई पुनर्बहाली गर्ने अन्तरिम आदेश दिएको थियो।
त्यसपछि उक्त आदेशमाथि एमाले अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वाेच्चमा भ्याकेट निवेदन दायर गरेका थिए। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले साेमबार उक्त निवेदनमाथि सुनुवाइ गर्दै चार सांसदलाई पदमुक्त गर्ने आदेश दिएकाे हाे।
साउन १८, २०७८ सोमबार २०:०८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।