काठमाडौँमा अवैध कोठी : बच्चा हेर्ने भनेर जबर्जस्ती यौन धन्दामा

काठमाडौँमा अवैध कोठी : बच्चा हेर्ने भनेर जबर्जस्ती यौन धन्दामा
साङ्केतिक तस्बिर

काठमाडौँ  : आमाको दुवै मिर्गौला खराब भएपछि सुकमाया (नाम परिवर्तन) उनको उपचारको लागि काठमाडौँ आइन्। तर कहाँ बस्ने टुङ्गो थिएन उनको।

आमाको साथी मार्फत उनको भेट भयो बिना लिम्बु भन्ने ज्योति पोमुसंग। पोमु कठमाडौंको बाफलमा डेरामा बस्थिन्।

पोमुको कोठामा बसेर जसोतसो आमाको उपचार चलिरहेकै थियो। सुकमाया कलङ्की नजिकै रहेको स्कुलमा पढ्दै पनि थिइन्। आमाको उपचारसँगै आफ्नो पढाई पनि चलिरह्यो। उपचार गर्दागर्दै उनको आमा बितिन्।

आमा बाहेक कोही थिएनन् उनको परिवारमा। आमा नै बितेपछि एक्ली भइन् उनी। उनी पोमुकै कोठामा बसिन्। उनी स्कुलको समयपछि पोमुको छोरा हेर्न सघाउँथिन्।

उनको कोठामा मुना, प्रीति आले मगर भन्ने प्रीति थापा मगर लगायतका युवतीहरू आउँथे। केही अपरिचित युवाहरू पनि उनकै कोठामा आउँथे। उनीहरू शुकमायाले देख्ने गरी नै यौन सम्बन्ध राख्थे।

त्यही उनको चिनजान भयो प्रीतिसँग। उनीहरू फेसबुकमा कुराकानी गर्न थाले। एक दिन पोमुले पीडितलाई बिहान अबेरसम्म सुतेको भनेर गाली गरिन्। उनले प्रीतिलाई त्यो घटना सुनाइन्। प्रीतिले उनलाई थानकोटमा रहेको आफ्नो कोठामा गएर बस्न सल्लाह दिइन्। 

उनलाई पढाई छुट्ने डर थियो। तर प्रीतिको पनि बच्चा थियो। उनले बच्चा हेरे बापत पढाइदिने आश्वासन दिएपछि उनी प्रीतिको कोठामा पुगिन् चैत १७ मा।

त्यो कोठा पनि अवैध कोठी नै रहेछ। प्रीति नयाँ–नयाँ केटाहरू ल्याएर उनकै अगाडि सम्बन्ध राख्थिन्। उनले शुकमायालाई पुरुषहरूसँग शारीरिक सम्बन्ध राखेमा पैसा दिने प्रलोभन देखाउन लागिन्। 

मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार उनले जर्बजस्ती त्रासमा देखाएर ती नाबालिगकालाई एक महिनासम्म यौन धन्दामा लगाइन्।

ब्युरोका अनुसार पीडितले इन्कार गर्दा पीडित र मगरबिच झगडा समेत हुने गरेको थियो। प्रीति प्राय उनलाई कोठामा थुन्थिन्। प्रीतिले उनलाई कोठामा थुनेर गएको बेला उनी त्यहाँबाट भाग्न सफल भइन्।

उनी त्यहाँबाट भागेर ‘नेप्लीज होम’ नामक स‌ंस्थामा पुगिन्। त्यही संस्थाको सहयोगमा उनले प्रहरीमा पुगेर जाहेरी दिएपछि प्रहरीले असार २१ मा प्रीतिलाई पक्राउ गर्यो। विना लिम्बु भन्ने ज्योति पोमु असार ३० गते पक्राउ परिन्।

पक्राउ परेका दुई जनालाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन,२०६४ अनुसार मुद्दा चल्दा दुवै जना पुर्पक्षका लागि थुनामा गएका छन्।

साउन १८, २०७८ सोमबार १९:२४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।