मन्त्रालय भागबन्डामा अल्झियो गठबन्धन, मन्त्रिपरिषद्ले पाएन पूर्णता
प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्रालय भागबन्डामा सहमति हुने बित्तिकै पार्टीबाट मन्त्री बन्नेहरूको नाम टुङ्गो लाग्ने दुवै दलका नेताहरूले बताएका हुन्।
गठबन्धन दलहरुबीच सहमति भए माओवादी केन्द्रले आजै मन्त्री बन्नेहरूको नाम टुङ्गो लगाउने स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए। माओवादी केन्द्रले दिउँसो ३ बजे स्थायी कमिटीको बैठक बोलाएको छ।
माओवादीले सरकारमा माधव नेपाल पक्ष सहभागी हुँदा ६ र नहुँदा ७ देखि ८ वटा मन्त्रालय पाउने भने पनि कुन कुन मन्त्रालय टुङ्गो नलागेको शाहले बताए। ‘सत्ता गठबन्धनले भागबन्डामा सहमति गर्ने बित्तिकै मन्त्री बन्नेहरूको नाम टुङ्गो लाग्छ,’उनले भने,‘सम्भवतः आज टुङ्गो लाग्न सक्छ।’
उपेन्द्र यादव नेतृत्वमा सरकारमा जान लागेको जनता समाजवादी पार्टीले पनि मन्त्रालय भागबन्डा नहुँदा मन्त्री छान्न सकेको छैन। गठबन्धन दलका शीर्ष नेताहरूले भागबन्डा गर्ने बित्तिकै पार्टीको बैठक बसेर मन्त्री बन्नेहरूको नाम टुङ्गो लगाउने जसपा नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए।
सत्ता गठबन्धनबीच आज मन्त्रालय भागबन्डामा सहमति गर्न छलफलको हुने उनले बताए। ‘माधव नेपाल पक्षलाई सरकारमा सहभागी गराउन भागबन्डा भइरहेको थिएन,’उनले उकेरासँग भने,‘नेपाल पक्ष तत्काल सरकारमा नआउने भनेकाले आज मन्त्रालय भागबन्डा टुङ्गिन्छ भन्ने छ।’
सत्ता गठबन्धनका दलबीच आज छलफल हुने भनिए पनि समय निश्चित भएको छैन। प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवा भेटघाट र छलफलको कार्यक्रम अहिले तय भैनसकेको बताउँछन्।
असार २९ गते प्रधानमन्त्रीमा नियुक्त देउवाको मन्त्रिपरिषद् ६ सदस्यीय छ। एमाले नेपाल पक्षलाई सरकारमा सहभागी हुन आग्रह गरिरहेकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको गठबन्धनका नेताहरूले बताएका छन्।
साउन १८, २०७८ सोमबार ०८:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।