असोज ३ गते वडा र ९ गते स्थानीय तहको अधिवेशन गर्ने एमाले स्थायी कमिटीको निर्णय
काठमाडौं : नेकपा एमालेले आगामी असोज ३ गते देशभरका वडा र ९ गते स्थानीय तहको अधिवेशन गर्ने निर्णय गरेको छ।
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आज (आइतबार) सम्पन्न स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको महासचिव ईश्वर पोखरेलले जानकारी दिए।
यस्तै, बैठकले आगामी भदौ २७–२८ विधान अधिवेशन गर्ने निर्णय गरेको एमालेले जनाएको छ।
‘देशव्यापीरूपमा असोज ३ गते वडा तहको अधिवेशन गरिसक्छौं। र, असोज ९ गते पालिका स्तरको अधिवेशन गरिसक्छौं,’ बैठकबारे जानकारी दिँदै महासचिव पाेखरेलले भने, ‘विधान अधिवेशन सम्बन्धमा अरु टुंगो गर्नका लागि केन्द्रीय कमिटीको बैठक साउन २४ गते बस्दै छौं।’
विधान अधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव, ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन र विष्णुप्रसाद पौडेलले विधान संशोधन मस्यौदा तयार पार्ने एमालेले जनाएकाे छ। बैठकले विधान महाधिवेशनको व्यवस्थापनको जिम्मेवारीे रामबहादुर थापा ‘बादल’लाई दिएको छ ।
यसैगरी, बैठकले संगठित सदस्यता नवीकरण साउन २७ गतेभित्र गरिसक्ने निर्णय पनि गरेको छ।
बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने सहभागी थिएन।
साउन १७, २०७८ आइतबार २१:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।