दार्चुला घटनाको छानबिन गर्न गृह मन्त्रालयद्वारा पाँच सदस्यीय समिति गठन
काठमाडौं : गृह मन्त्रालयले तुइनको तारसँगै महाकाली नदीमा पुरुष बेपत्ता भएको घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ।
मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित समितिमा प्रहरी नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य छन्।
घटनाबारे सत्यतथ्य बुझेर १० दिनभित्र प्रतिवेदन पेस गर्न समितिलाई म्याद दिइएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
गत शुक्रबार भारतको गस्कुबाट दार्चुला सदरमुकाम खलंगा आउने क्रममा तुइन तरिरहेका व्यास गाउँपालिका–२, मालका जयसिंह धामी तुइनको तारसँगै नदीमा खसेका थिए।
घटनाका प्रत्यक्षदर्शीले भने भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको डोरी निकालेपछि धामी नदीमा खसेको बताएका छन्। तर, भारतीय पक्षले घटनामा एसएसबीको संलग्नता नरहेको दाबी गरेको छ।
साउन १७, २०७८ आइतबार २०:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।