अनुमति नै नलिई दाँतको उपचार गर्ने भारतीय चिकित्सक पक्राउ

अनुमति नै नलिई दाँतको उपचार गर्ने भारतीय चिकित्सक पक्राउ

काठमाडौँ :  नेपाल मेडिकल काउन्सिलसँग अनुमति नै नलिई दन्त चिकित्सकको रूपमा काम गरेका एक भारतीय नागरिक सहित तीन जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ। भारत पटनाका सौरभ कुमारले अनुमति नै नलिई चाबहिलमा रहेको हेल्दी स्माइल ओमकार डेण्टल होम प्रालीमा चिकित्सा सम्बन्धी काम गर्ने गरेको र उनलाई अवैध रूपमा काममा लगाएको आरोपमा प्रालीका सञ्चालक राधाकृष्ण तामाङ र रावेतकुमार ठाकुर समेत पक्राउ परेका छन्।

चिकित्सा पेसा गर्न कानुन बमोजिम अधिकार प्राप्त अधिकारीबाट इजाजत पत्र प्राप्त नगरेका भारतीय नागरिकले चिकित्सकको रूपमा काम गरी बिरामीहरूको चेकजाँच गर्ने,चिरफार तथा सर्जरी समेतका उपचार कार्यमा संलग्न रहेको सूचनाको आधारमा सो प्रालीमा काउन्सिलका प्रतिनिधि सहित सिआइबी अनुगमनमा गएको थियो।

अनुगमनमा कुमारले इजाजत पत्र विना दाँत सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार गरी रहेको अवस्थामा फेला परेपछि उनीसहित तीनै जनालाई मुलुकी अपराध संहिता अनुसार इलाज सम्बन्धी कसुर तथा अन्य प्रचलित कानुन बमोजिम कारबाहीका लागि पक्राउ गरिएको ब्युरोले जानकारी दिएको छ।

साउन १७, २०७८ आइतबार १९:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।