सर्वाेच्चले साेध्याे लुम्बिनीका दुई पूर्वमाओवादी सांसदलाई हटाउनुको कारण
काठमाडौं : सर्वाेच्च अदालतले नेकपा माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका लुम्बिनीका दुई प्रदेश सभा सदस्यलाई हटाउनुको कारण सोधेको छ।
न्यायाधीश आनन्दमोहन भटराईको इजलासले रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै प्रदेश सभाका सदस्यद्वय दधिराम न्यौपाने र दिनेश पन्थीलाई हटाउनुको कारण सोधेको हो। यस्तै, इजलासले आगामी भदौ ८ गते दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेश समेत दिएको छ।
एमाले प्रवेश गरेपछि पदमुक्त गरिएका उनीहरूले पुनर्बहालीको माग गर्दै यही साउन ७ गते सर्वाेच्चमा रिट निवेदन दिएका थिए।
उनीहरूले रिट निवेदकमा नेकपा (माओवादी केन्द्र), लुम्बिनी प्रदेश प्रदेश सभा सचिवालय, लुम्बिनी प्रदेशका सभामुख र निर्वाचन आयोगलाई विपक्षी बनाएका छन्।
नेपालको संविधान र माओवादी केन्द्रको संसदीय दलको विधानविपरीत आफूहरूलाई हटाइएको उनीहरूको जिकिर छ। साथै उनीहरूले आफूहरू तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेको संयुक्त घोषणापत्रका आधारमा निर्वाचनमा लडेकाले एमाले प्रवेश गरेको भनेर हटाउन नमिल्ने निवेदनमा उल्लेख गरेका छन्।
माओवादी केन्द्रको पत्रको आधारमा सभामुख पूर्णबहादुर घर्तीले गत चैत २३ मा उनीहरूलाई निलम्बन गर्दै पद रिक्त भएको जानकारी दिएका थिए।
साउन १७, २०७८ आइतबार १९:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।