एक महिना अगाडि विदा नीति अनुसार प्रभुरामले पाए कामु प्रधानसेनापति पद
काठमाडौँ– अवकाशको एक महिना अगाडि अनिवार्य अवकाशको नीति अनुसार पूर्णचन्द्र थापा बिदामा बस्ने भएपछि बलाधिकृत रथी प्रभुराम शर्मा कायम कायममुकायम प्रधानसेनापतिमा नियुक्त भएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सैनिक ऐन, २०६३को दफा ८ को उपदफा (३) अनुसार मन्त्रीपरिषद्को सिफारिसमा आइतबार कायम कायममुकायम प्रधानसेनापति नियुक्त गरेकी हुन्।
प्रधानसेनापति थापाको तीन वर्षे पदावधि भदौ २४ मा सकिँदै छ। उनी साउन २४ गतेबाट घर बिदामा बस्दै छन्। नेपाली सेनामा अनिवार्य अवकाशमा जाने एक महिना अगाडि भावी प्रधानसेनापतिलाई नेतृत्वको तयारीका लागि एक महिना पहिल्यै कामु दिने नीति छ।
अवकाशमा जाने प्रमुखलाई अन्तिम समयसम्म राख्दा भावी नेतृत्वले तयारी गर्न समय नपाउने र नीतिगत रूपमा प्रभाव पार्ने निर्णय नहोस् भनेर सुरक्षा सङ्गठनमा अवकाशको एक महिना अगाडि बिदामा राख्ने नीति छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीमा समेत यो प्रचलन रहे पनि पछिल्ला वर्षमा यसको पालना हुन सकेको छैन।
यी दुवै सङ्गठनमा नीतिगत भन्दा पनि आफ्नालाई सङ्गठनको नेतृत्वमा ल्याउन हुने चलखेलले अवकाशमा जाने अन्तिम दिनसम्म पनि सङ्गठन प्रमुख कायमै रहने गरेका छन्।
साउन १७, २०७८ आइतबार १७:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।