कर्णाली डुंगा दुर्घटना : एक जनाको मृत्यु (अपडेट)
काठमाडौं : कर्णाली नदीमा भएको डुंगा दुर्घटनामा घाइते एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रतीक विष्टका अनुसार मृत्यु हुनेमा कैलालीको मोहन्याल गाउँपालिका–३ की १९ वर्षीया धनसरा सलामी मगर छिन्।
यस्तै, घटनामा उनका छोरा (नवजात शिशु) कर्ण सलामी मगर र अर्का एक जना घाइते भएको उनले बताए। उनीहरू स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको उनले बताए।
दुर्घटनामा ३ जना बेपत्ता छन्। डिएसपी विष्टका अनुसार बेपत्ता हुनेमा स्थानीय २२ वर्षीया उर्मिला सलामी मगर, उनका छोरा (नवजात शिशु) प्राप्ति सलामी र २० वर्षीया पार्वती थापा छन्।
दुर्घटनामा परेका ४ जना भने सकुशल रहेको प्रहरीले जनाएको छ।
आइतबार दिउँसो मोहन्याल गाउँपालिका–३, राँगा पलेखाबाट सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन र उपचार गर्नका लागि कर्णाली नदी तर्ने क्रममा डुंगा दुर्घटनामा परेको थियो।
बेपत्ताको खोजीका लागि प्रहरीको टोली परिचालन गरिएको डिएसपी विष्टले जानकारी दिए।
डुंगामा १० जना सवार रहेकाे प्रहरीले जनाएकाे छ।
साउन १७, २०७८ आइतबार १६:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।