दार्चुला घटनामा भारतसँग गम्भीर आपत्ति जनाउन माओवादी केन्द्रको माग 

दार्चुला घटनामा भारतसँग गम्भीर आपत्ति जनाउन माओवादी केन्द्रको माग 

काठमाडौं : नेकपा माओवादी केन्द्रले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार चुँडाउँदा नेपाली युवक महाकाली नदीमा खसेको घटनामा भारतसँग गम्भीर आपत्ति जनाउन सरकारसँग माग गरेको छ।

माओवादी स्थायी कमिटीको आज (आइतबार) बसेको बैठकले उक्त घटनामा भारतसँग गम्भीर आपत्तिसहित आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउन माग गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। 

गत शुक्रबार बिहान भारतीय भूमिबाट घर फर्किँदै गरेका दार्चुलाको व्यास गाउँपालिकाका जयसिंह धामी तुइनबाट नदी तर्दै गर्दा एसएसबीका एक जवानले तुइनको तार चुँडाइँदिएपछि नदीमा खसेको घटनाका प्रत्यक्षदर्शीले बताएका छन्। 

भारतले भने उक्त घटनामा एसएसबीको संलग्नता नरहेको दाबी गरेको छ।

नदीमा खसेपछि बेपत्ता धामीको खोजीका लागि प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय, दार्चुलाले जनाएको छ। 

घटनाबारे छानविन गर्न गृह मन्त्रालयले समिति पनि गठन गरेको छ। 

साउन १७, २०७८ आइतबार १५:४०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।