उदयपुरमा कोरोना संक्रमणका कारण एकै परिवारका तीन जनाको मृत्यु
काठमाडौं : उदयपुरको त्रियुगा नगरपालिका-२, खैजनपुर गाउँमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण एकै परिवारको तीन जनाको मृत्यु भएको छ।
नगर प्रमुख बलदेव चौधरीका अनुसार कोरोना संक्रमणका कारण ४४ वर्षीय र ४३ वर्षीय पुरुष र ४४ वर्षीय महिलाको मृत्यु भएको हो।
तीमध्ये ४३ वर्षीय पुरुषको अस्पताल लैजाने क्रममा बाटोमै र बाँकी दुई जनाको होम आइसोलेसनम मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाका सहसंयोजक अभदनारायण चौधरीले जानकारी दिए।
उनका अनुसार ४४ वर्षीय पुरुषको २० २२ दिनअघि मृत्यु भएको थियो। त्यसको १० दिनपछि ४३ वर्षीय पुरुषको र गत शुक्रबार ४४ वर्षीय महिलाको मृत्यु भएको हो।
कोरोना पोजेटिभ भएपछि उनीहरु होम आइसोलेसनमै रहेको उनले बताए।
गाउँ सिल
कोरोना संक्रमणका कारण तीन जनाको मृत्यु र गाउँमा रुघाखोकी, ज्वरोका बिरामी देखिएपछि गाउँलाई सिल गरिएको छ।
नगरपालिकाका स्वास्थ्य शाखाका सहसंयोजक चौधरीका अनुसार उक्त गाउँलाई शनिबार राति १२ बजेदेखि साउन २४ गते राति १२ बजेसम्मका लागि सिल गरिएको हो।
गाउँमा पछिल्लो केही दिनयता रुघाखोकी, ज्वरोका बिरामी देखिएको उनले बताए। प्रत्येक घरका एक-दुई जनालाई रुघाखोकी वा ज्वरो देखिएको उनकाे भनाइ छ।
साउन १७, २०७८ आइतबार ११:१०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।