मेलम्चीमा फेरि बाढी, १२ घर र झोलुंगे पुल बगायो
काठमाडौं : विनाशकारी बाढी आएको डेढ महिनापछि शनिबार राति मेलम्चीमा फेरि बाढी आएको छ।
राति साढे ९ बजे आएको बाढीले सिन्धुपाल्चोकका १२ घर र झोलुंगे पुल बगाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरी कार्यालयका अनुसार बाढीले हेलम्बु गाउँपालिकाको किउल क्षेत्रमा ६ र मेलम्ची नगरपालिकास्थित मेलम्ची बजारमा ६ घर बगाएको छ, जसमा पाँच वटा कच्ची र सात वटा पक्की घर छन्।
बाढीले हेलम्बु–४, ग्याल्थुम बजार जोड्ने झोलुंगे पुलसमेत बगाएको प्रहरी कार्यालयले जनाएको छ।
यसअघि गत असार १ गते मेलम्चीमा आएको बाढीले सिन्धुपाल्चोकमा धनजनको क्षति भएको थियो। बाढीका कारण पाँच जनाको मृत्यु भएको थियो भने १५ जना अझै बेपत्ता छन्।
साउन १७, २०७८ आइतबार ०८:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।