तुइनबाट नेपाली युवक महाकालीमा खसेको घटनामा एसएसबीको संलग्नता नरहेको भारतको दाबी
काठमाडौं : महाकाली नदीमा तुइनबाट खसेर युवक बेपत्ता भएको घटनामा एसएसबीको संलग्नता नरहेको भारतले दाबी गरेको छ।
भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई आज (शनिबार) पठाएको पत्रमा उक्त घटनामा एसएसबीको संलग्नता नरहेको दाबी गरेका हुन्।
भारतीय पक्षले तुइन तर्न नसकेर युवक नदीमा खसेको दाबी गरेको छ। तर, घटनाका बेला एसएसबी उक्त क्षेत्रमा ड्युटीमा खटिएको कुरा साँचो रहेको उनले बताए।
गत शुुक्रबार बिहान भारतीय भूमिबाट सदरमुकाम खलंगा आउने बेला व्याँस गाउँपालिका–२, मालघाटमा तुइन तर्ने क्रममा सोही गाउँपालिकाका जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका थिए।
घटनाका प्रत्यक्षदर्शीले भारतीय एसएसबीले तुइनको डोरी निकालेपछि धामी नदीमा खसेर बेपत्ता भएको बताएका थिए। त्यसपछि स्थानीय प्रशासनले शुक्रबार भारतीय एसडीम कार्यालयलाई पत्राचार गर्दै घटनाको छानबिन गरेर सहयोग गरिदिन आग्रह गरेको थियो ।
नदीमा खसेका धामी अझै बेपत्ता छन्। उनको खोजीका लागि प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको टोली परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय, दार्चुलाले जनाएको छ।
साउन १६, २०७८ शनिबार २०:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।