मुलुकको राजनीतिलाई अहिलेको अवस्थामा पुर्याउने पात्रहरू मूलधारबाट बाहिर भए मात्रै पार्टी एकता : झाँक्री 

मुलुकको राजनीतिलाई अहिलेको अवस्थामा पुर्याउने पात्रहरू मूलधारबाट बाहिर भए मात्रै पार्टी एकता : झाँक्री 

काठमाडौं : नेकपा एमालेकी सांसद रामकुमारी झाक्रीले मुलुकको राजनीतिलाई अहिलेको अवस्थामा पुर्याउने पात्रहरू मूलधारबाट बाहिर भए मात्रै पार्टी एकता हुने बताएकी छन्। 

शनिबार राजधानी काठमाडौंमा आयोजित अखिल फोर्सको बृहत् भेलालाई सम्बोधन गर्दै उनले यस्ताे बताएकी हुन्।  

‘पार्टी एकता कहिले हुन्छ ? जहिले आजको राजनीतिलाई यो अवस्थामा पुर्याउने पात्रहरू राजनीतिको मेन स्ट्रिमबाट बाहिर हुन्छन्। पार्टी एकताको सर्तमा छोड्छन्,’ पार्टी अध्यक्ष ओलीलाई इंगित गर्दै उनले भनिन्।

पार्टी एकताका लागि अहिले प्रयास भइरहे पनि टुंगाेमा पुग्नेमा उनले शंका व्यक्त गरिन्। 

‘साथीहरू प्रयास गरिरहनुभएको छ। मेरो सिनियर नेताहरूलाई सम्मान गर्न चाहान्छु। तपाईंहरू प्रयास जारी राख्नुस्।’

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकाे सरकार आफूहरूले (माधवकुमार नेपाल पक्ष) विश्वासको मत नहालेर भन्दा पनि आफ्नै स्वेच्छाचारी, निरंकुश तथा संविधान र व्यवस्था विराेधी गतिविधिकै कारण गिरेकाे उनकाे भनाइ थियाे। 

'दुई तिहाईको सरकार गिराउने कुरा हामीले विश्वासको मत नहालेर हो ? काम गर्न नदिएर बालुवाटारबाट बालकोटको बार्दलीमा पुग्नुभएको हो ?' उनले भनिन्, 'तत्कालीन प्रधानमन्त्री ओलीलाई आज यो अवस्थामा पुर्याउनका लागि विरोधीले काम गरेन भन्ने बाह्य कुरा हो। उहाँको वास्तविक अन्तरनिहीत स्वेच्छाचारी, निरंकुश कदमले संविधान र व्यवस्थामाथि जुन प्रहार गर्नुभयो, त्यसलाई आजको समाजले बालुवाटारबाट बार्दलीमा पुर्याउनु थियो र पुर्याइयो।'

साउन १६, २०७८ शनिबार १८:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।