माधवका दु:ख : तन देउवा–प्रचण्डतिर, मन एमालेतिर
काठमाडौं : मन्त्रिपरिषद् विस्तारका लागि प्रेसरमा देखिन्छन् प्रधानमन्त्री शेरबहादुर देउवा। गठबन्धनको अर्को दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि हतारमै देखिन्छन्। जनता समाजवादी पार्टीको आधिकरिक विवाद टुंगिएकाले मन्त्रालयको संख्या टुंगिए उनीहरू तयार देखिन्छन् सरकारमा जान।
सरकार गठन भएको १६ दिन बित्यो बिहीबार। तर, मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन। गठबन्धनको सहमति अनुसार चार मन्त्रीबाट देउवाले सत्ता चलाउन सुरु गरेका थिए। बीचमा खुसुक्क स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेर आलोचित भए उनी। पाँच जना लिएर सरकारको रफ्तार बढाउन नसकेका उनी मन्त्रिपरिषद् विस्तार गर्न दिनकै सत्ता घटक दलको बैठक राखिरहेका छन्। तर, सहमति हुन सकेको छैन।
कारण हुन् नेकपा एमालेका नेता माधव नेपाल। नेपालको समूह सत्ताघटकै हुन्। तर, उनी आवद्ध दल एमाले प्रतिपक्ष। पार्टीमा चलेको लामो विवादले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग बोलचालै बन्द भए पनि सरकारमा जाँदा गुम्न सक्ने एमाले नेताको पहिचानले उनले सरकारमा जाने निर्णय नै गर्न सकेका छैनन्।
नेपालले निर्णय नगर्दा जति हतार भए पनि देउवा र प्रचण्ड मन्त्रिपरिषद् विस्तारको निर्णयमा पुग्न सकेका छैनन्। नेपाललाई मनाउने क्रम भने जारी छ। बिहीबार प्रचण्डले भेटेर नेपाललाई सरकारमा सहभागी हुनेबारे चाँडै निर्णय गर्न आग्रह गरेका थिए। तर, नेपालले निर्णय दिन सकेनन्। नेपाल अलमलमै देखिएपछि उनी शुक्रबारसम्म निर्णय गर्नुस् भनेर फर्किएर प्रधानमन्त्री देउवालाई भेट्न पुगेका थिए।
'नेपालजीले सरकारमा सहभागी हुन्नौ, विस्तार गर्नुस् भन्न सक्नु भएको छैन। जान्छु पनि भन्न सक्नु भएको छैन,' मन्त्रीपरिषद् विस्तारबारे भइरहेका छलफलबारे जानकार स्रोतले उकेरासँग भन्यो, 'उहाँमा सरकारमा जाँदा कतै आफ्नै समूह पनि विभाजित हुने हो कि भन्ने भय देखिन्छ। सरकारमा सहभागी हुँदा अलग दल गठन गर्नुपर्ने अवस्थाले पनि उहाँ दोधारमा हुनुहुन्छ।'
आफ्नै समूहमा दुई धार
उच्च नेतृत्व तहमा सम्बन्धविच्छेदको अवस्था भए पनि नेपाललाई सरकारमा जान नदिन ओली पक्षका दोस्रो तहका नेताहरू सक्रिय नै छन्। बिहीबारै ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले नेपालसँग भेटेर एमालेमा सक्रिय हुनेबारे छलफल गरेका थिए।
नेम्वाङका अनुसार उनी ओली र नेपालबीच बन्द भएको बोलचाल फुकाउने प्रयास गर्न नेपाललाई भेटेका थिए। तर, नेपाल तत्काल ओलीसँग पार्टी एकताबारे छलफल गरिहाल्ने मुडमा देखिएका छैनन्।
अर्को समस्या उनकै समूहमा सरकारमा सहभागी हुने वा ओलीसँग सहमति गरेर एमालेमै रहने भन्नेबारे समेत एकमत छैन। देउवालाई विश्वासको मत दिएका र तटस्थ बसेका नेपाल समूहबीच कुरा मिल्न सकेको छैन।
देउवालाई विश्वासको मत दिएकाहरू ओली समूहसँग सहकार्य सम्भव नभएकाले सरकारमा सहभागी हुनुपर्ने पक्षमा छन् भने तटस्थ बसेकाहरू सरकारमा सहभागी भए पार्टी एकताको प्रक्रिया बन्द हुने भएकाले सरकारमा सहभागी हुनै नहुने पक्षमा छन्।
ओली कार्यकारी अधिकारसहितको दोस्रो अध्यक्षका लागि तयार भएको अवस्थामा सरकारमा जान नहुने बरु संवादको प्रक्रिया अगाडि बढाउनुपर्नेमा सुरेन्द्र पाण्डे, घनश्याम भुसाल लगायतका नेताको मत छ। नेपालले समेत एमालेबाट अलग हुने निर्णय गर्न सकेका छैनन्।
ओलीले पार्टीमा टिक्न नदिनेमा उनी विश्वस्त देखिए पनि नयाँ पार्टी गठन गरेर जाँदाको जोखिमका कारण उनी नयाँ दल गठनको निर्णयमा पुग्न सकेका छैनन्। विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमार झाक्री लगायतका २२ सांसद भने अब आफ्ना लागि एमालेमा स्थान नभएकाले नयाँ पार्टी गठन गरेर अगाडि बढ्नुपर्ने पक्षमा छन्।
बहुमत गुम्ने भय
नेपाल समूह एमालेको मुलधारमा गए देउवा सरकारलाई बहुमत कायम राख्न हम्मेहम्मे पर्नेछ। अन्तिम समयमा विश्वासको मत दिएका जनता समाजवादी पार्टीको महन्थ ठाकुर समूहमाथि भर पर्न सक्ने अवस्था छैन।
नेपाल एमालेमा फर्किएमा उनीसँगै २२ सांसद पनि फर्किनेछन्। ठाकुर समूहले साथ छाडेमा सरकारले बहुमत गुमाउने भएकाले सकेसम्म नेपाललाई सरकारमा सहभागी गराउन अन्तिम समयसम्म प्रयास गर्ने पक्षमा देखिएका छन् देउवा र प्रचण्ड।
'शुक्रबारभित्रमा केही निर्णय गर्ने नेपालले बताउनुभएको छ। शनिबारसम्ममा मन्त्रिपरिषद् विस्तार हुन सक्छ,' स्रोतले भन्यो, 'यदि नेपाल समूह सरकारमा नआए ठाकुर समूहलाई केही मन्त्रालय दिएर भए पनि बहुमत सुरक्षित गर्ने रणनीति अपनाउन सकिन्छ। तर, उहाँहरू दलहीन भएको र ठाकुर समूहलाई सरकारमा ल्याउँदा यादव समूह रिसाउने जोखिम पनि छ।'
साउन १४, २०७८ बिहीबार २१:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।