कांग्रेस क्रियाशील सदस्यता विवाद : छानबिन समितिले सच्याएर बुझायो प्रतिवेदन
काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन गर्न गठित समितिले क्रियाशील सदस्यता सच्याएर पार्टी सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ।
पार्टी केन्द्रीय सदस्यसमेत रहेका छानबिन समिति सदस्य प्रदीप पौडेलले क्रियाशील सदस्यता सच्याएर आज (बिहीबार) प्रतिवेदन बुझाइएको जानकारी दिए।
उनले क्रियाशील सदस्यताका सम्बन्धमा समितिले आफ्नो काम सकेर शीर्ष नेताको जिम्मा लगाएको बताए।
‘हामीले तयार गरेको प्रतिवेदनमा क्रियाशील सदस्यता सच्याएर आज पेस गरेका छौं। यससँगै हाम्रो काम सकिएको छ,’ उनले भने, ‘हामीले नसकेका जति पनि विषय छन्। अब शीर्ष नेतृत्वले त्यसलाई टुंग्याउने छ।’
पौडेलले सप्तरी, बारा, धनुषा र सर्लाहीका विषयमा विवाद रहेको र १०० वडाको सदस्यता स्थगन भएको जानकारी दिए।
‘चार प्रतिशत वडामा मात्र स्थगित भएको छ। क्रियाशील सदस्यताका कारण अधिवेशन नहुने भन्ने स्थिति छैन। अधिवेशनको नयाँ कार्यतालिकाको सम्बन्धमा नेतृत्वले छलफल गरिरहेको छ,’ उनले भने, ‘अधिकांश काम सकिएका छन्। यत्रो वातावरण बनेपछि पनि अधिवेशन रोकिन्छ भने त्यसलाई स्वभाविक मान्न सकिँदैन।’
नेता रमेश लेखक नेतृत्वको समितिले यसअघि गत मंगलबार पार्टी सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको थियो।
उक्त प्रतिवेदनमाथि छलफल भएपछि हिजो बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठकले समितिलाई २४ घण्टाभित्र क्रियाशील सदस्यता सच्याएर प्रतिवेदन पेस गर्न निर्देशन दिएको थियो।
समितिले प्रतिवेदन बुझाएपछि त्यसबारे पार्टी सभापति देउवा निवास बुढानिलकण्ठमा छलफल भएको छ।
साउन १४, २०७८ बिहीबार १८:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।