तीस करोड भुक्तानी नपाएपछि काठमाडौँ आए उखु किसान

तीस करोड भुक्तानी नपाएपछि काठमाडौँ आए उखु किसान

काठमाडौँ : उखु बेचे बापतको रकम दिलाइदिन सरकारले गरेको सहमति पालना नभएपछि सर्लाहीका उखु उत्पादक उखु किसानहरू पुन काठमाडौँ आएका छन्।

चार वर्षदेखिको करिब ३० करोड रकम अझै नपाएको र सरकारले पटक–पटक गरेको सम्झौता पनि पुरा नभएको भन्दै आन्दोलनका तयारीसहित किसान काठमाडौँ. आएका हुन्।

किसानहरूका अनुसार उनीहरूले २०७४ को भुक्तानी अहिलेसम्म पाएका छैनन्। उखु किसानले दाबी गरेको ९० करोड मध्ये २५ करोड रुपैयाँ उद्योग मन्त्रालयले विवादित भनी कार्यदलले प्रतिवेदनमार्फत छिनोफानो गर्ने भनिए पनि मन्त्रालयले चासो नदिएको किसानहरूको आरोप छ।

उखु किसान सङ्घर्ष समितिका संरक्षक राकेश मिश्रका अनुसार उद्योग मन्त्रालयसँग २१ दिनभित्र सम्पूर्ण बाँकी बक्यौता रकम मन्त्रालयले भुक्तानी गराउने भनी २०७७ पुस १३ गते पाँच बुँदे सहमति भए पनि हालसम्म सबै रकम पाउन सकेका छैनन्।

रिर्पोटर्स क्लबमा आयोजक कार्यक्रममा उनले सरकारबाट पटक–पटक आश्वासन पाए पनि अहिलेसम्म भुक्तानी हुन नसकेपछि किसानहरू कोरोना महामारीको बाबजुद पनि फेरि आन्दोलन गर्न बाध्य भएर काठमाडौँ आएको बताए ।

उखु किसान २०७६ वैशाख ३१ यता निरन्तर आन्दोलनमा छन्। अन्नपूर्ण चिनी मिल धनकौल, महालक्ष्मी चिनी मिल बगदह, लुम्बिनी चिनी कारखाना नवलपरासी, इन्दिरा सुगर मिल नवलपरासी र श्रीराम सुगर मिल रौतहटले उखु किनेको पैसा नदिएको उनीहरूको दाबी छ। यी मिलबाट सरकारले उखु किसानको लागि १५ करोड रुपैयाँ उठाइदिने कबुल गरेको थियो।

 

 

साउन १४, २०७८ बिहीबार १७:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।