मन्त्रिपरिषद्मा तीन दल बाहिरै
सरकारमा नेपाली कांग्रेसबाट प्रधानमन्त्रीसहित ४ जना र नेकपा माओवादी केन्द्रबाट २ जना गरेर ६ सदस्यीय मन्त्रिपरिषद्मा छन्। जनता समाजवादी पार्टी सरकारमा जाने निर्णय गरेर सत्ता गठबन्धनको छलफलमा छ।
प्रधानमन्त्री शेरबहादुर देउवाको विश्वासको मत लिने प्रस्तावको पक्षमा मत दिएका नेकपा एमालेको माधव नेपाल पक्षले सरकारमा जाने नजाने निर्णय गरेको छैन।
सरकारमा सहभागी हुने नहुनेबारे नेपाल पक्षले एक साता पर्खनु पर्ने जवाफ दिएपछि बालुवाटारमा भएको छलफलमा कुराकानी मात्रै भएको छ।
मन्त्रालय भागबन्डामा कुरा नमिलेपछि जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले मन्त्रीको नाम छान्न सकेको छैन। बालुवाटारमा भएको छलफलबारे नेताहरूले केही बताएका छैनन्।
संसदमा विश्वासको मत लिएका प्रधानमन्त्री देउवाको दल नेपाली कांग्रेसका ६१ र नेकपा माओवादी केन्द्रका ४९ जना सांसद छन्।
१६५ मत पाएका देउवाको सरकारमा अहिले ११० जना सांसद रहेको दुई दल सहभागी छ। जसपाको आधिकारिता उपेन्द्र यादव पक्षले पाएको छ। महन्थ पक्षले पनि विश्वासको मत दिएको छ।
उनीहरूसँग ३२ सांसद छन्। माधव नेपाल पक्षका २२ सांसदले मत दिएका थिए। राष्ट्रिय जनमोर्चाले पनि देउवालाई विश्वासको मत दिएको थियो।
देउवालाई विश्वासको मत दिने तीन दल सरकारमा सहभागी भएका छैनन्।
साउन १४, २०७८ बिहीबार १०:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।