माओवादी केन्द्र छाडेर एमालेमा लागेका नेता टोपबहादुर रायमाझीकाे दाबी– म एमालेमा प्रवेश गरेकै छैन
सांसदमा पुनर्बहालीको माग गर्दै सर्वाेच्च अदालतमा दायर गरेको रिट निवेदनमा उनले यस्तो दाबी गरेका हुन्।
एमालेमा लागेपछि माओवादी केन्द्रले कारबाही गर्दा उनी सांसदबाट पदमुक्त भएका थिए।
उनले सर्वाेच्चमा दायर गरेको रिट निवेदनको अंश ः
म २०७४ सालको प्रतिनिधि सभा सदस्य प्रत्यक्ष निर्वाचनमा अर्घाखाँची जिल्लाबाट संविधानको धारा ८४ (१) (क) र ८७ बमोजिम प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको छु।प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट भई निर्वाचित भएको छु। प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि सदस्य पदको हैसियतले देश र जनताको विकास गर्ने काम जनताको सेवा गर्ने काममा निरन्तर लागिरहेको छु।
यसैबीच, राष्ट्रव्यापी महामारीको रूपमा फैलिएको कोरोना कहरबाट जनतालाई बचाउनको लागि जनतासम्म पुर्याउनु पर्ने स्वास्थ्य सतर्कताका मापदण्ड समेतका सामान तथा आवश्यक सेवाका लागि आफ्नो जिल्लामा निरन्तर खटिरहेको छु।
केपी ओलीले नेतृत्व गरेको, उहाँ अध्यक्ष भएको ने.क.पा. एमालेमा आजसम्म म औपचारिकरूपमा प्रवेश गरेको छैन। एमालेको पार्टीको सदस्यता लिएको छैन। मिति २०७८ असार २३ मा मैले निर्वाचन आयोगबाट निवेदन गरी निकालेको प्रतिलिपि अनुसार नेकपा एमाले केन्द्रीय कमिटीको सदस्यमा म छैन। ने.क.पा. माओवादी (एकता केन्द्र)को केन्द्रीय समिति सदस्यमा रहेको छु। सो दुवै दलको कार्य समितिको प्रमाणित प्रतिलिपि यसै निवेदन साथ पेस गरेको छु।
नेपाल कम्युनिस्ट पार्टी (एकता केन्द्र)ले मलाई कारबाही गर्दा कुनै स्पष्टीकरण सोधेको छैन। मलाई सफाइको मौका दिएको छैन। मलाई स्पष्टीकरण सोधे मैले दिने जवाफबाट पार्टीले मलाई कारबाही गर्ने ठाउँ नरहने हुँदा मेरो आँखा छलेर मलाई स्पष्टीकरणको पत्र नदिई मलाई दिने भनी लेखिएको मेरा नामको पत्र निर्वाचन आयोगमा पत्र बुझाएको रहेछ, जुन मैले नक्कल सारी थाहा पाएको हुँ।
मिति २०७७ चैत १ मा स्पष्टीकरण मागा गरेको पत्र मलाई बुझाउनु पर्नेमा बोधार्थ भनी निर्वाचन आयोगमा बुझाएछन्, मलाई थाहा–जानकारीसम्म दिएका छैनन्। सो पत्रमा स्पष्ट भनिएको छ कि मलाई ‘सर्वाेच्च अदालतको मिति २०७७ फागुन २३ को आदेश अनुसार तपाईं नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समिति तथा सचिवालय सदस्य रहनुभएको उल्लेख छ।’ सो पत्रबाटै अदालतको आदेशले केन्द्रीय कमिटी र सदस्यमा रहेको कुरा सदर भएको स्पष्टीकरण पत्रबाटै प्रमाणित भएको छँदैछ।
साउन १३, २०७८ बुधबार १७:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।