पार्टी निर्णयविपरीत सरकारमा सहभागी भएको भन्दै तीन सांसदलाई जसपाले गर्यो निष्कासन
आज (मंगलबार) बसेको जसपा कार्यकारिणी समिति बैठकले लुम्बिनी प्रदेश सभा सदस्यहरू सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेलाई निष्कासन गर्ने निर्णय गरेको एक नेताले जानकारी दिए।
पार्टी निर्णयविपरीत प्रदेश सरकारमा सहभागी भएको भन्दै जसपाले यसअघि पनि उनीहरूलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा लुम्बिनी प्रदेशसभा सचिवालयले उनीहरू सांसदबाट पदमुक्त भएको सूचना प्रकाशन गरेको थियो।
त्यसपछि उनीहरूले पदबहालीको माग गर्दै सर्वाेच्चमा रिट निवेदन दिएका थिए। उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वाेच्चले कारबाही थमौती गरेको थियो।
उपेन्द्र यादव पक्षले निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि फेरि ती सांसदलाई कारबाही गरेको हो।
यसअघि प्रदेश सरकारमा जसपाका ४ जना सांसद सहभागी थिए। तर, केही दिनअघि सुमन शर्मा रायमाझीले राजीनामा दिएकी थिइन्।
निर्वाचन आयाेगले हिजाे जसपाकाे उपेन्द्र यादव पक्षलाई पार्टीकाे आधिकारिकता दिने निर्णय गरेकाे थियाे।
साउन १२, २०७८ मंगलबार २०:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।