कांग्रेसको विशेष महाधिवेशन गर्न नेता केसीको प्रस्ताव
१३ औँ महाधिवेशनका क्रियाशील सदस्यलाई आधार मानेर विशेष अधिवेशनबाट तदर्थ केन्द्रीय समिति गठन गर्न सकिने केसीको प्रस्ताव छ। तदर्थ समितिले एक वर्षभित्र पार्टीको महाधिवेशन गर्न सक्नेबारे आफूले प्रस्ताव राखेको केसीले बताए।
भदौमा १४ औँ महाधिवेशन गर्ने सम्भावना कम हुँदै गएको भन्दै केसीले विशेष अधिवेशन आफ्नो मात्रै प्रस्ताव रहेको बताए। ‘अरू विकल्प पनि हुनसक्छ,’केसीले भने,‘१३ औँ महाधिवेशनका क्रियाशील सदस्यलाई मान्यता दिएर विशेष महाधिवेशन गर्न सकिन्छ।’
उनले नेपाली कांग्रेसको २०१२ र २०१४ सालमा दुई पटक विशेष महाधिवेशन भएको बताउँदै यसले पार्टीको वैधानिकतामा प्रश्न नउठ्ने दाबी गरे।
सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा महाधिवेशनको विकल्पको बारेमा औपचारिक रूपमा छलफल नभएको उनले बताए। ‘सभापति शेरबहादुर देउवा भदौमा जसरी पनि महाधिवेशन गर्नुपर्छ भनिरहेको छ,’ नेता केसीले भने,‘तर, बल्ल आज साउन १२ गते त क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन बुझाएको छ, भदौ मै महाधिवेशन हुने सम्भावना टर्दै गएको छ।’
केसीले बुधबार बिहान ११ बजे बुढानीलकण्ठमा बस्ने पदाधिकारी बैठकमा छानबिन समितिले बुझाएको क्रियाशील सदस्यता प्रतिवेदनबारे छलफल हुने जानकारी दिए। बैठकमा सभापति देउवाले भदौमै महाधिवेशन गर्ने भन्दै पार्टी कार्यालयमा जारी अनसन छिटो अन्त्य गराउन भनेका थिए।
साउन १२, २०७८ मंगलबार १६:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।