पूर्वसभामुख महरालाई उच्च अदालतबाट पनि सफाइ
यसअघि जिल्ला अदालत, काठमाडौंले महरालाई निर्दोष रहेको फैसला गरेको थियो। जिल्ला अदालतको उक्त फैसलाविरुद्ध सरकारी वकिल उच्च अदालत गएका थिए।
न्यायाधीशद्वय माधवप्रसाद पोखरेल र विमल सुवेदीको संयुक्त इजलासले महराको मुद्दामाथि सुनुवाइ गर्दैै जिल्ला अदालतको फैसला सदर गर्ने फैसला गरेको हो।
संसद् सचिवालयकी महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा महरामाथि मुद्दा चलाइएको थियो। पूर्वसभामुख महराको मुद्दामा जिल्ला न्यायाधीश अम्बरराज पौडेलको एकल इजलासले बलात्कार प्रयास पुष्टि हुने आधार नदेखिएको भन्दै गत फागुन ५ मा निर्दोष रहेको फैसला गरेको थियो।
प्रतिनिधि सभाको सभामुख रहेकै समयमा उनीमाथि संसद सचिवालयकी एक महिला कर्मचारीले उजुरी गरेकी थिइन्। सोही उजुरीका आधारमा महरा असोज १९ मा सरकारी निवासबाटै पक्राउ परेका थिए। आरोप लागेपछि महराले २०७६ असोज १४ मा सभामुख पदबाट राजीनामा दिएका थिए।
साउन १२, २०७८ मंगलबार १५:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।