आयोगमा सनाखत नगरी फर्किए रेसम चौधरी 

आयोगमा सनाखत नगरी फर्किए रेसम चौधरी 

काठमाडौँ : कारागारमा रहेको जनता समाजवादी पार्टी जसपाका कार्यकारिणी सदस्य रेसम चौधरी सनाखत नगरी फर्किएका छन्।

डिल्लीबजार कारागारबाट निर्वाचन आयोग पुगेर चौधरीले आफ्नो पक्ष र विपक्ष जसपा भएको बताउँदै सनाखत नगरी फर्किएको बताए।

आयोगमा लामबद्ध भएर बसेका दुवै पक्षका नेताले ‘रेसम हाम्रो पक्षमा’ मा भन्दै नारा लगाएका थिए। टिकापुर घटनामा अदालतले दोषी ठहर गरेका चौधरी डिल्लीबजार कारागारमा छन्। 

चौधरीले दुवै पक्षले आ आफ्नो भएको दाबी गरेपछि उपेन्द्र र महन्थसँग छुट्टाछुट्टै छलफल गरेका थिए। पार्टी भित्रको आपसी वैमनस्यताका कारण निर्वाचन आयोग आउनु परेको बताएका चौधरीले छलफलपछि तटस्थ बसेको बताए। 

५१ सदस्यीय जसपाको केन्द्रीय कार्यकारिणी समितिमा चौधरी सहित ३४ जना सदस्यले उपेन्द्र र १६ जनाले महन्थको पक्षमा सनाखत गरेका छन्। चौधरीलाई आयोगसम्म ल्याउने व्यवस्था उपेन्द्र यादवले गरेका हुन्। 

यादवले चौधरीले आफ्नो पक्षमा सनाखत गर्ने बताएका थिए। तर, चौधरी तटस्थ बसेर सनाखत नगरी फर्किए। उनले आफू निर्दोष रहेको बताए। उनले भने,‘निर्दोषीलाई थुन्न पाइँदैन, न्याय पाउँ श्रीमान् न्याय।’

उनले निष्ठाको राजनीति गर्ने बताए। महन्थ ठाकुरलाई भिष्मपितामह दर्जा कायम गर्न सुझाव दिएका चौधरीले युद्धको नियमका कारण बाण हान्नु परेको महाभारतको प्रसङ्ग सुनाए। 

जसपाको आधिकारिकता विवादमा आयोगले हेड काउन्ट(सनाखत) गराएको हो। ५१ जना केन्द्रीय कार्यकारिणी समितिका सदस्यले सनाखत गरिसकेकाले आजै निर्णय दिने तयारी गरेको आयोगले जनाएको छ।

साउन ११, २०७८ सोमबार १५:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।