नाथुराम गोड्से बन्ने अभिव्यक्ति फिर्ता लिन प्रदेश सांसद वैद्यलाई काँग्रेसको निर्देशन 

नाथुराम गोड्से बन्ने अभिव्यक्ति फिर्ता लिन प्रदेश सांसद वैद्यलाई काँग्रेसको निर्देशन 

काठमाडौँ : नेपाली काँग्रेस बागमती प्रदेश संसदीय दलले प्रदेश सभा सदस्य नरोत्तम वैद्यलाई नाथुराम गोड्से बन्ने भनेर दिएको अभिव्यक्ति फिर्ता लिन निर्देशन दिएको छ।

काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बाँनियाले आलोचना गर्दा राख्नुपर्ने संयम, परिपक्वता र पार्टीको नीति विपरीतको अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न वैद्यलाई निर्देशन दिएका हुन्। शुक्रबार बसेको प्रदेश सभा बैठकमा वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आफू महात्मा गान्धीका हत्यारा नाथुराम गोड्से बन्ने अभिव्यक्ति दिएका थिए।

‘काँग्रेस सांसद नरोत्तम वैद्यले वाग्मती प्रदेशसभामा दिएको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको छ,’बाँनियाले ट्विट गर्दै भनेका छन्,‘आलोचना गर्दा राख्नुपर्ने संयम, परिपक्वता र पार्टीको नीति विपरीतको अभिव्यक्ति फिर्ता लिएर आत्मालोचना गर्न संसदीय दलको नेताको हैसियतले आग्रहसहित निर्देशन गर्दछु।’ 

यस्तै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले वैद्यलाई आफ्नो अभिव्यक्तिप्रति आत्मालोचना गर्न निर्देशन दिएका छन्। सामाजिक सञ्जालमा प्रवक्ता शर्माले सडकमा पनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइँदैन भनेका छन्। ‘आवेगको बोली र व्यवहार भावनात्मक उत्तेजना भनेर उन्मुक्ति हुँदैन। शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ। तर्कले आपत्तिजनक  शब्द छोप्ने हाम्रो परम्परा छैन।’ प्रवक्ता शर्माले ट्विट गरेका छन्।

जेठ २९, २०७८ शनिबार ०९:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।