काँग्रेसले महाधिवेशनको तयारीबारे छलफल गर्दै 

काँग्रेसले महाधिवेशनको तयारीबारे छलफल गर्दै 
फाइल तस्बिर

काठमाडौँ : नेपाली काँग्रेसले पार्टीको १४ औँ महाधिवेशनको तयारीका विषयमा छलफल गर्दैछ।

पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको दिउँसो २ बजे सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने बैठकमा महाधिवेशनको तयारीका विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए। 

पौडेलले अहिलेको समसामयिक राजनीतिक परिस्थितिका विषयमा पनि बैठकमा छलफल हुने बताए। कोरोना महामारीका कारण पार्टीको महाधिवेशन तालिकाबारे सभापति देउवाले सुझाव लिन बैठक बोलाएका हुन्। 

मुख्यसचिव पौडेलले तालिका परिवर्तन हुने नहुनेबारे बैठकपछि मात्रै भन्न सकिने बताए। काँग्रेसले भदौ ७ देखि १० गतेसम्म पार्टीको महाधिवेशन गर्ने तालिका सार्वजनिक गरे पनि त्यसअनुसार क्रियाशील सदस्यता वितरणको काम नै सकेको छैन।

सिन्धुपाल्चोक सहितका केही जिल्लामा अझै क्रियाशील सदस्यता वितरणको काम हुन सकेको छैन। काँग्रेसलाई भदौमा जसरी पनि महाधिवेशन गर्नुपर्ने संवैधानिक बाध्यता छ। 

जेठ २९, २०७८ शनिबार ०८:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।