राउटे किशोरीमाथि यौन दुर्व्यवहारबारे मिडिया र सामाजिक सञ्जालमा प्रयोग गरिएका तस्बिर र भिडियोको प्रेस काउन्सिलले अध्ययन गर्ने
काठमाडाैं : प्रेस काउन्सिल नेपालले सुर्खेत गुर्भाकोटकी राउटे किशोरीमाथि भएको यौन दुर्व्यवहार घटनालाई अतिरञ्जित गर्न मिडिया र सामाजिक सञ्जाल (युट्युब च्यानल)ले प्रयोग गरेको तस्बिर र भिडियोबारे अध्ययन गर्ने भएको छ।
काउन्सिलको आचारसंहिता अनुगमन उपसमिति बैठकले मिडिया तथा सामाजिक सञ्जालमा प्रयोग गरिएका तस्बिर र भिडियोले पीडितलाई थप पीडा पुर्याउने, व्यक्तिको गोपनीयतामा प्रतिकूल असर पार्ने, किशोरीकै समुदायभित्र सामाजिक विभेद एवं घृणा उत्पन्न गराउने र व्यक्तिको सुरक्षामा समेत खतरा उत्पन्न गराएको औंल्याउँदै त्यस विषयमा अध्ययन गर्ने निर्णय गरेको हो।
उक्त घटनाले अल्पसंख्यक एवं महिलाको आत्मसम्मान र भावनामा प्रतिकूल असर परेको ठहर गर्दै काउन्सिलले यी विषयमा सरोकारवालासँग छलफल गर्नेसमेत निर्णय गरेको काउन्सिलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
काउन्सिलले कोरोना भाइरस (कोभिड १९) संक्रमण महामारीको दोस्रो लहरमा जारी निषेधाज्ञामा १ सय ४८ सञ्चारमाध्यम वेवपोर्टलले आचारसंहिता प्रतिकूल घटना गरेको जनाएको छ।
यस अवधिमा कोरोना संक्रमणका विषयमा वीभत्स दृश्य, अतिरञ्जित सामग्री सम्प्रेषण गर्ने १३, भ्रमपूर्ण अफवाहपूर्ण सामग्री सम्प्रेषण भएकाले नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि पत्राचार भएका ७३, कोरोना संक्रमणभन्दा फरक विषयमा ९ मिडियालाई स्पष्टीकरण सोधिएको र कोरोना संक्रमणभन्दा फरक विषयमा १३ मिडियासँग जवाफ मागसहित सचेत/ध्यानाकर्षण गराइएको काउन्सिलले जनाएको छ।
जेठ २८, २०७८ शुक्रबार २३:०१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।