दाङमा कुलो विवादमा स्थानीय युवकले गोली चलाए, पेस्तोलसहित दुई जना पक्राउ
बुटवल : दाङको तुलसीपुरमा कुलोको विषयमा विवाद हुँदा स्थानीय एक युवकले गोली चलाएका छन्।
इलाका प्रहरी कार्यालय, तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार तुलसीपुर उपमहानगरपालिका-८, अस्वारास्थित गहते खोलामा कुलोको विषयमा विवाद भएपछि सोही वडाको चन्दगञ्ज बस्ने २५ वर्षीय पूर्णबहादुर ओलीले गोली चलाएका हुन्।
उनले चलाएको गोली कसैलाई पनि नलागेकाे प्रहरीले जनाएकाे छ।
प्रहरीका अनुसार गाेली चलाएपछि रा २ प ६७९२ नम्बरको मोटरसाइकलमा भाग्दै गरेका ओलीसहित उक्त मोटरसाइकल चालक तुलसीपुर-८, टिकरीका आकाश चौधरीलाई पक्राउ गरिएकाे छ। ओलीकाे साथबाट पेस्ताेल र ६ राउन्ड गोली पनि बरामद गरिएकाे प्रहरीले जनाएकाे छ।
ओलीले भारतबाट पेस्ताेल ल्याएकाे बुझिएकाे प्रहरी नायब उपरीक्षक सिंहले बताए।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जेठ २८, २०७८ शुक्रबार १४:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।