नवनियुक्त मन्त्रीको शपथ लगत्तै मन्त्रिपरिषद् बैठक बस्ने
काठमाडौँ : कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका मन्त्रीहरूको शपथ लगत्तै मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बेलुकी ६ बजे मन्त्रिपरिषद्को बैठक बस्ने उपप्रधान तथा परराष्ट्र मन्त्री रघुवीर महासेठले जानकारी दिए।
१७ सदस्यीय मन्त्रिपरिषद्मा आज ८ जनालाई नियुक्त गरेसँगै २५ सदस्यीय मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो। बैठकमा मन्त्रालयगत नियमित एजेन्डा बाहेक अरू नरहेको उपप्रधानमन्त्री महासेठले बताए।
गृहमन्त्रीमा खगराज अधिकारी, सञ्चार मन्त्रीमा नैनकला थापा, कृषि मन्त्रीमा ज्वालाकुमारी शाह, उद्योग मन्त्रीमा राजकिशोर यादव, वन मन्त्रीमा नारदमुनि राना, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मोहन बानियाँ, सामान्य प्रशासन मन्त्रीमा गणेश पहाडी र वन राज्यमन्त्रीमा आशा विकले मन्त्री पदको शपथ लिँदै छन्।
नवनियुक्त मन्त्रीहरूको शपथ दिउँसो ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा हुँदैछ। राष्ट्रपति कार्यालयले मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति, हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद् गठनको जानकारी गराएको छ।
मन्त्रिपरिषद्मा गृहमन्त्री खगराज अधिकारी उपप्रधानमन्त्री राजेन्द्र महतो भन्दा तल छन्। सञ्चार मन्त्रीमा नियुक्त पूर्व गृहमन्त्री रामबहादुर थापा बादलकी श्रीमती नैनकला कानुन मन्त्री लीलानाथ श्रेष्ठ भन्दा तल १४ नम्बर छिन्। मन्त्रिपरिषद्को १५ औँ नम्बरमा पूर्व माओवादीको कारबाहीमा परेर प्रदेश सदस्यबाट पदमुक्त भएकी ज्वालाकुमारी कृषि मन्त्री बनेकी छन्।
उद्योग मन्त्रीमा नियुक्त जनता समाजवादी पार्टी महन्थ ठाकुर पक्षका राजकिशोर यादव स्वास्थ्य मन्त्री शेरबहादुर तामाङ भन्दा तल मन्त्रिपरिषद्को १० औँ नम्बरमा छन्। राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्ति, हेरफेर र कार्य विभाजन गरी मन्त्रिपरिषद् गठन गरेकी हुन्।
जेठ २७, २०७८ बिहीबार १४:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।