चिकित्सा शिक्षा सम्बन्धन लफडा : डा. केसी फेरी सत्याग्रह सुरु गर्ने मुडमा
काठमाडौँ : डा. गोविन्द केसीले चिकित्सा शिक्षामा अवैध सम्बन्धनको प्रक्रिया अगाडि बढाइए सत्याग्रह सुरु गर्ने बताएका छन्।
डा. केसीले विज्ञप्ति निकालेर चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरूको अडान विपरीत अवैध सम्बन्धनको प्रक्रिया अघि बढाइए सत्याग्रह सुरु गर्ने बताएका हुन्।
‘हाल म द्वन्द्वग्रस्त मुलुक यमनका पिछडिएका ठाउँहरूमा सेवा दिएर नेपाल फर्कने क्रममा छु,’डा. केसीले निकालेको विज्ञप्तिमा लेखिएको छ,‘म नेपाल फर्कनासाथ त्यस्तो हर्कतविरुद्ध सत्याग्रह सुरु गर्ने जानकारी गराउन चाहन्छु।’
चिकित्सा शिक्षा ऐनको प्रावधान अनुसार २०८० फागुनसम्म हाल सरकारी प्रतिष्ठान वा मेडिकल कलेज नपुगेका सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुग्नै पर्छ। तर प्रधानमन्त्री केपी ओलीले आफूनिकट माफियाहरूको इशारामा काम रोकेर राखेको केसीको आरोप छ।
उनले प्रधानमन्त्री ओली आपराधिक आर्जनको लगानी गरी चिकित्सा शिक्षाको व्यापारीकरण गर्ने मेडिकल माफियाका प्रमुख संरक्षक रहेको आरोप पनि लगाएका छन्। आफ्ना आर्थिक र राजनीतिक साझेदार मध्येका एक व्यक्तिले सञ्चालन गर्न लागेको झापास्थित निजी मेडिकल कलेजलाई गैर कानुनी रूपमा सम्बन्धन दिलाउन प्रधानमन्त्री ओलीले अनेक हथकण्डा अपनाएको केसीले निकालेको विज्ञप्तिमा उल्लेख छ।
‘यस्तो अवस्थामा प्रधानमन्त्रीले जबरजस्ती भोलि जेठ २८ गते चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठक राखेर सम्बन्धनसम्बन्धी अवैध निर्णय गर्न आयोगका सदस्यहरूलाई बाध्य पार्न खोजेका छन्,’केसीले निकालेको विज्ञप्तिमा लेखिएको छ,‘प्रधानमन्त्रीले नै अवैध कार्य गराउने यस्तो कार्य विधिको शासनविरुद्धको अक्षम्य अपराध हो।’
जेठ २७, २०७८ बिहीबार १३:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।