कामचलाऊ सरकारमा मन्त्री बन्न दौडधुप, पूर्वमाओवादी र नेपाल समूहलाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी
काठमाडौँ : माधव नेपाल समूहलाई २ मन्त्रालय दिएर प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् विस्तारमा सक्रिय भएका छन्। उनले आफूसँगै राखेका मन्त्रालयहरूमा मन्त्री नियुक्त गर्न लागेका हुन्।
मन्त्री बन्न प्रधानमन्त्री निवास बालुवाटारमा नेताहरूको दौडधुप चलिरहेको छ। ‘नेताहरू दौडधुपमा हुनुहुन्छ,’ एमाले ओली पक्षकै एक नेताले भने,‘पर्सिसम्म के हुन्छ भन्ने ठेगान छैन।’
जानकार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले पूर्व माओवादीबाट २ जनालाई मन्त्री बनाउने तयारी गरेका छन्। एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग सहमति भए नेपाल पक्षका २ जनालाई पनि मन्त्रीमा नियुक्त गर्ने तयारीमा ओली रहेको स्रोतले बतायो।
‘मन्त्रिपरिषद् आज या भोलिसम्म विस्तार हुन्छ,’एमाले नेता सुभाष नेम्वाङले भने,‘प्रधानमन्त्री नाम फाइनल गर्दै हुनुहुन्छ होला। उनले मन्त्रिपरिषद्का को को सहभागी हुने भन्ने टुङ्गो प्रधानमन्त्री ओलीले नै लगाउने बताए।
प्रधानमन्त्री ओलीले रक्षा, गृह सहित उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पुशपंक्षी विकास, वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय आफैसँग राखेका छन्।
प्रतिनिधिसभा विघटन गरेर चुनावको मिति घोषणा गरेका प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी महन्थ पक्षका ८ मन्त्री र २ राज्यमन्त्री नियुक्त गरिसकेका छन्। ओलीले पूर्व माओवादीलाई दुई र सहमतिमा आए नेपाल पक्षका २ जनालाई मन्त्री बनाउने तयारीमा उनको समूह देखिएको छ।
विस्तारमा यसअघिकै मन्त्रिपरिषद्मा रहेका केही पुन प्रवेश गर् नसक्ने स्रोतले बतायो। गैर सांसदलाई मन्त्री बनाएको भन्दै पद खारेज गर्न परेको रिटमा सर्वोच्च अदालतले आदेश दिएका पूर्व माओवादी भने सरकारमा सहभागी हुँने छैनन्।
जेठ २६, २०७८ बुधबार १४:०६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।