तीन क्यान्सर अस्पताललाई संस्थान बनाउनेबारे काँग्रेसको विरोध

तीन क्यान्सर अस्पताललाई संस्थान बनाउनेबारे काँग्रेसको विरोध

काठमाडौँ : सरकारले बजेटमा ३ वटा स्थापित क्यान्सर अस्पतालहरूको स्वायत्तता कुण्ठित गर्ने नियत रहेको भन्दै नेपाली काँग्रेसले विरोध गरेको छ। काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधवार विज्ञप्ति जारी गर्दै गम्भीर विमर्शपश्चात् मात्रै उचित विकल्पको निष्कर्षमा पुग्नुपर्ने भन्दै क्यान्सर अस्पताल जस्तो संवेदनशील विषयलाई हाल यथास्थितिमा राख्न माग गरेका छन्।

सरकारले भक्तपुर क्यान्सर अस्पताल, बिपी कोइराला मेमो रियल क्यान्सर अस्पताल, भरतपुर र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई संस्थान मातहतमा ल्याउने योजना सार्वजनिक गरेको थियो।

‘क्यान्सर रोगको अध्ययन, अनुसन्धान र उपचारलाई राज्यले थप व्यवस्थित, प्रोत्साहित र बढवा दिन जरुरी छ। त्यसका लागि स्थापित स्वास्थ्य प्रतिष्ठानहरू हाम्रो भरपर्दो आधार हुन्,’ विज्ञप्तिमा भनिएको छ ‘त्यसका लागि सक्षम प्रतिष्ठानहरूलाई नै अध्ययन र अनुसन्धानका लागि प्रोत्साहित र सशक्तीकरण गर्ने योजना उपयुक्त हुनेमा त्यसो नगरी अलग्गै विवादास्पद संरचना मातहत ल्याउने र अस्पतालहरूको स्वायत्तता कुण्ठित गर्दै राज्य नियन्त्रित अखडा बनाउने नियत सरकारले राख्नु नितान्त गलत छ।’

 

जेठ २६, २०७८ बुधबार १३:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।