संसद् विघटन मुद्दा कमजोर हुँदै गएपछि गल्दै ओली, हस्ताक्षर फिर्ता लिए जेठ ३ मा फर्कन तयार
आइतबार सर्वोच्चको संवैधानिक इजलास वरिष्ठताको आधारमा गठन भएपछि बेलुका ओलीले विज्ञप्ति जारी गरेर पार्टीलाई एक बनाइराख्न भन्दै ६ बुँदे अवधारणा सार्वजनिक गरेका छन्। सो अवधारणामा उने एमाले २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्काउन तयार रहेको उल्लेख गरेका छन्।
त्यसका लागि विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्चमा दर्ता गरेको रिट निवेदनमा प्रयोग भएको एमालेका सांसदहरूको हस्ताक्षर फिर्ता हुनुपर्ने उनको सर्त छ।
उनको विज्ञप्तिमा भनिएको छ' नेकपा एमालेलाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइनेछ। आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग भएको नेकपा एमालेका निवर्तमान सांसदहरूको हस्ताक्षर फिर्ता हुनेछ।'
एमालेलाई सुदृढ बनाएर मात्रै कम्युनिस्ट आन्दोलन र लोकतन्त्र सुदृढ हुनसक्ने भन्दै उनले विज्ञप्तिमा भनेका छन्'पार्टीलाई किमार्थ कमजोर बन्न दिन हुन्न।'
उनले गरेको ६ बुँदे आव्हान
१ नेकपा एमालेलाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइनेछ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीका सदस्यहरूमध्ये एकताको पक्षमा उभिनु भएका कमरेडहरूलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीको संरचना गतिशील हुनेछन्।
२ मातहतका पार्टी कमिटी र जनसङ्गठनहरू मूलभूत रूपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशील हुने छन्।
३ सङ्गठनात्मक क्षेत्रका यी निष्कर्षहरू कार्यान्वयन गर्ने क्रममा देखा पर्ने समस्या समाधानका लागि कार्यदलले काम गर्ने छ।
४ आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग भएको नेकपा एमालेका निवर्तमान सांसदहरूको हस्ताक्षर फिर्ता हुनेछ।
५. यसबिचमा विभिन्न कमरेडहरूबाट भएका गल्ती तथा कमजोरीलाई लिएर कुनै कारबाही गरिने छैन, पूर्वाग्रह राखिने छैन, कुनै भेदभाव गरिने छैन।
६.नेकपा एमालेलाई वैचारिक, सङ्गठनात्मक र भावनात्मक रूपले एकताबद्ध अनुशासित र अझ सुदृढ बनाउन सबै कमरेडहरूले रचनात्मक योगदान गर्नु हुनेछ।
जेठ २३, २०७८ आइतबार २२:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।