वीरगञ्ज महानगरपालिकाले किन गर्यो असारदेखि विद्यालय खोल्ने निर्णय ?
काठमाडौं : यही जेठ २२ गते पर्साको वीरगञ्ज महानगरपालिकाको नगर शिक्षा समिति बैठकले आगामी असार १ गतेदेखि कक्षा ८ देखि १२ सम्मका विद्यालय खोल्ने निर्णय गर्यो।
विद्यालय सञ्चालन नगर्दा अभिभावक र विद्यार्थी आत्तिएकाले विद्यालय खोल्नुपर्ने स्थिति आएको महानगरपालिकाले जनाएको छ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीपकुमार निरौला कोरोना भाइरसको संक्रमण दर कम हुँदै गएकाले नगर शिक्षा समितिले विद्यालय सञ्चालन गर्ने निर्णय गरेको बताउँछन्।
‘अभिभावक र विद्यार्थी पनि धेरै आत्तिनुभएको छ। सबैतिर इन्टरनेटको सुविधा पनि छैन,’ प्रमुख प्रशासकीय अधिकृत निरौला भन्छन्, ‘संक्रमण दर कम भए मात्रै विद्यालय खोल्ने निर्णय गरेका हौं।’
वीरगञ्जमा पछिल्लो समय कोरोना संक्रमण दर घटेको बताइए पनि पिसिआर तथा एन्टिजेन परीक्षण न्यून संख्यामा हुने गरेको पाइएको छ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरौला कोरोना परीक्षण दर कम भएको स्वीकार्छन्। ‘पिसिआर परीक्षणको संख्या न्यून छ,’ उनले भने, ‘परीक्षण न्यून भए पनि संक्रमण दर पनि न्यून देखिन्छ।’
भारतसँगको प्रमुख नाका वीरगञ्जको सीमामा भने एन्टीजेन परीक्षण गर्ने गरिएको छ। जेठ १८ देखि २२ गतेसम्म सीमा नाकामा ७८ जनाको एन्टिजेन परीक्षण गरिएकोमा १ जनालाई मात्रै कोरोना संक्रमण देखिएको थियो।
पर्साको दैनिक संक्रमण दर ८–१५ प्रतिशत
महानगरपालिकाले उपलब्ध गराएको तथ्यांक अनुसार पर्सामा पछिल्लो पाँच दिनमा (जेठ १८ देखि २२ गतेसम्म) ६ सय ८६ जनाको कोरोना परीक्षण गरिएकोमा ७५ जनामा संक्रमण पुष्टि भएको थियो। तीमध्ये पर्साका ३८ जना हुन् भने वीरगञ्ज महानगरपालिकाका २३ जना।
उक्त अवधिमा पर्साको दैनिक संक्रमण दर ८ देखि १५ प्रतिशत रहेको तथ्यांकले देखाएको छ।
तथ्यांक अनुसार पर्सामा जेठ १८ गते १ सय ९२ जनाको पिसिआर परीक्षण गर्दा २० जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो। उक्त दिनको संक्रमण दर १०.४१ प्रतिशत छ।
त्यस्तै, १९ गते १ सय ६० जनाको परीक्षण गरिएको थियो, जसमा १४ जना संक्रमित भेटिएका थिए। उक्त दिनको संक्रमण दर ८.७५ प्रतिशत छ।
महानगरपालिकाको तथ्यांक अनुसार २० गते संक्रमण दर बढेको देखिन्छ। उक्त दिनको संक्रमण दर १५.४९ प्रतिशत छ।
तथ्यांक अनुसार उक्त दिन १ सय ४२ जनामा परीक्षण गरिएकोमा २२ जना संक्रमित फेला परेका थिए।
त्यसैगरी, २१ गते ९६ जनाको पिसिआर परीक्षण गरिएकोमा ९ जनामा कोरोना संक्रमण देखिएको थियो। उक्त दिन कोरोना संक्रमण दर ९.३७ प्रतिशत छ।
२२ गते भने संक्रमण दर सामान्य बढेको थियो। उक्त दिनको कोरोना संक्रमण दर छ १०.४१ प्रतिशत। उक्त दिन ९६ जनामा पिसिआर परीक्षण गर्दा १० जनामा कोरोना पोजेटिभ देखिएको थियो।
०००
विज्ञका अनुसार दैनिक ५ प्रतिशतभन्दा कम संक्रमण दर देखिए मात्रै सामान्य अवस्था मान्न सकिन्छ।
महानगरपालिकाले पनि कोरोना संक्रमण ५ प्रतिशतभन्दा कम दरमा झार्नै अनुमान गरेरै विद्यालय खोल्न निर्णय गरेको महानगरपालिका प्रशासकीय अधिकृत निरौला बताउँछन्।
जेठ २३, २०७८ आइतबार १६:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।