माधव नेपालले भने : नत्र हामी घर न घाटको हुनेछौँ
उनले केपी ओलीसँग कुनै हालतमा पनि एकता हुन नसक्ने भन्दै भने ‘मैले त निष्कर्ष निकालिसकेको छु बालुवा पेलेर तेल निस्कने वाला छैन।’
आफूनिकट समानान्तर जिल्ला कमिटी पदाधिकारीको जारी भर्चुअल बैठकमा शनिवार सम्बोधन गर्दै उनले एमाले सांसदको हैसियतमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतमा रिट दायर गरेकाले तत्काल नयाँ पार्टी गठन गर्न प्राविधिक समस्या रहेको बताएका थिए।
रिट विचाराधीन अवस्थामा रहेको बेलामा नयाँ पार्टी गठन गर्दा प्राविधिक समस्या आउन सक्ने भन्दै उनले भर्चुअल बैठकमा भनेको उद्धृत गर्दै एक नेताले भने' अहिले नयाँ पार्टी खोल्यौँ भने हामी अर्को पार्टीको सदस्य उनेछौँ। सबै विकल्प सोचेर अघि बढ्नु पर्ने हुन्छ। नत्र हामी घर न घाटको हुँनेछौँ।’
उनले आफ्नो समूहका नेताहरुलाई शङ्का नगर्न आग्रह गर्दै कसैलाई पनि छाडेर नजाने र उचित जिम्मेवारी दिने भन्दै सङ्कटको अवस्थामा पनि साथ दिएकोमा धन्यवाद दिएका थिए। उनले नयाँ पार्टी गठनका लागि केही समय लागे पनि अहिलेबाटै टोल-टोलमा समानान्तर कमिटी बनाएर सङ्गठन विस्तार गर्न निर्देशन समेत दिएका थिए।
उनले अब ओलीसँगको वार्ताको सर्त प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता मात्र रहेको बताएका थिए।
जेठ २२, २०७८ शनिबार १७:२४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।