गुट राजनीतिको उपहार : श्रीमान्-श्रीमती नै मन्त्री
काठमाडौँ : कानुन मन्त्री हुँदा बङ्गलादेशका नेपाली विद्यार्थी अभद्र टिप्पणी गर्दा पद गुमाएका शेरबहादुर तामाङ परिवारलाई नै नेकपामा चर्किएको गुटको राजनीति फापेको छ।
सिन्धुपाल्चोकबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गरेका तामाङ पछिल्लो समय गाँजा अभियन्ताका रूपमा सक्रिय थिए। गाँजा खुल्ला गराउन अभियानै सुरु गरेका उनी नेकपा विवाद हुँदा माधव नेपाल- पुष्पकमल दाहाल समूहमा गएका उनी केही समयमै केपी ओलीतिर फर्किए।
गुट बदले बापत उनकी श्रीमती उषाकला राई प्रदेश १ को सामाजिक विकास मन्त्रीमा नियुक्त भएकी थिइन्। श्रीमान् तामाङ गाँजा अभियन्ता बनेझैँ राई घरेलु रक्सी खुल्ला गराउने अभियानमा सक्रिय थिइन्। केही महिना अगाडि उनी प्रदेश मन्त्री बनिन्। जनता समाजवादी पार्टीलाई सरकारमा सहभागी गराउनेक्रममा प्रधानमन्त्री ओलीले तामाङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन्।
मधेस केन्द्रित राजनीतिबाट उदाएका अनिलकुमार झाकी श्रीमती पहिल्यै प्रदेश मन्त्री थिइन्। डिम्पलकुमारी झा प्रदेश २ मा भौतिक पूर्वाधार राज्यमन्त्री हुँदा उनको श्रीमान् केन्द्रमा खानेपानी तथा सरसफाइ मन्त्री बनेका छन्। जसपामा विवाद बढेसँगै अनिलकुमार झा महन्थ समूहमा खुलेर लागेका थिए। प्रदेश २ मा सरकार बदल्ने खेल सुरु भइसकेकाले डिम्पल कति समय मन्त्री रहने पक्का भने छैन।
शुक्रवारै जसपाका अध्यक्ष उपेन्द्र यादवले नेपाली काँग्रेसका उप सभापति बिमलेन्द्र निधिसँग प्रदेश २ को सरकार बदल्नेबारे छलफल गरेका छन्।
नेपालको बलियो महतो घरानासँग जोडिएको महासेठ परिवारमा भने श्रीमान्-श्रीमतीविच आलोपालो पद्धति सुरु भएको छ। पहिला माधव गुटमा लागेका रघुवीर महासेठ सरकार बाहिरै रहे पनि उनको श्रीमती जुली महतो भने ओलीतिर लागेर महिला तथा बालबालिका मन्त्री भएकी थिइन्।
शुक्रवार भएको मन्त्रीपरिषद् पुनर्गठनमा उनी निवर्तमान मन्त्री बन्दा उनको घरमा उपप्रधान तथा परराष्ट्रमन्त्रीको पद आयो। उनको श्रीमान् रघुवीर महासेठ शुक्रवार उपप्रधानमन्त्रीको पोर्टफोलियोसँगै परराष्ट्र मन्त्री नियुक्त भए। माधव समूहमा लागेका महासेठ पछिल्लो समय ओली प्यानलमा फर्किएका थिए।
महासेठको यो दोस्रो कार्यकाल हो। उनी यस अगाडि ओली नेतृत्वकै सरकारमा भौतिक पूर्वाधार मन्त्री थिए। उनी पटक-पटक विवादमा आएपछि उनको मन्त्री पद गएको थियो।
जेठ २१, २०७८ शुक्रबार २१:३७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।