कोरोना संक्रमित बालबालिकाको उपचारका लागि २० प्रतिशत शय्या तयारी अवस्थामा राख्न अस्पताललाई स्वास्थ्य मन्त्रालयकाे अनुराेध
काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड˗१९) संक्रमित बालबालिकाको उपचारका लागि २० प्रतिशत शय्या छुट्याई तयारी अवस्थामा राख्न अस्पताललाई अनुरोध गरेको छ।
कोरोनाको तेस्रो तथा चौथो लहर आउन सक्ने र बालबालिका बढी प्रभावित हुन सक्ने भन्दै मन्त्रालयले शय्या तयारी अवस्थामा राख्न अस्पताललाई अनुरोध गरेको हो।
मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘दोस्रो लहरजस्तै पुनः तेस्रो र चौथो लहर आउन सक्ने र त्यस बेला बालबालिका बढी मात्रामा संक्रमित हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै आफ्नो स्वीकृत शय्याको कम्तीमा २० प्रतिशत कोभिड˗१९ संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्नु हुन अनुरोध छ।’
त्यसैगरी, मन्त्रालयले अक्सिजनको व्यवस्थापन गर्न पनि अस्पताललाई अनुरोध गरेको छ।
जेठ २१, २०७८ शुक्रबार १७:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।