जेठ मसान्तसम्म सर्वोच्च अदालतको कामकारबाहीमा सङ्कुचन
काठमाडौँ : सर्वोच्च अदालतले जेठ मसान्तसम्म अदालतको कामकारबाहीमा कुनै परिवर्तन नगर्ने भएको छ। आज बसेको सर्वोच्चको पूर्ण बैठकले यसअघिकै कामकारबाही मात्र सुचारु राख्ने निर्णय गरेको हो। अदालतले बैठकबारे विज्ञप्ति जारी गरेर जानकारी दिएको हो।
सह प्रवक्ता देवेन्द्र ढकालले जारी गरेको विज्ञप्तिमा नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार लगायत सम्बद्ध निकायहरूबाट जारी भएका आदेशहरूको निरन्तरता र विद्यमान अवस्थाको मूल्याङ्कनका आधारमा अदालतहरूबाट सम्पादन हुने कामकारबाहीमा यसअघिकै निर्णयलाई निरन्तरता दिइने उल्लेख छ।
बैठकले सर्वोच्च अदालतबाट सम्पादन हुने कामकारबाही र सेवा प्रवाहलाई जेठ १३ को पूर्ण बैठकको निर्णय अनुसार निरन्तरता दिने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै उच्च अदालत, जिल्ला अदालत, अन्य अदालत र न्यायाधिकरणहरूको काम कारबाही तथा सेवा प्रवाहमा समेत यसअघिकै निर्णयलाई निरन्तरता दिने निर्णय गरिएको छ। यस अवधिमा हदम्याद, म्याद र तारेखको अवधि लाई शून्य मान्ने यसअघिकै निर्णयले निरन्तर रहने अदालतको भनाई छ।
अदालतले काठमाडौँमा वैशाख १६ बाट जारी निषेधाज्ञाको समयमा बन्दी प्रत्यक्षीकरण र कोरोनासँग सम्बन्धित अत्यावश्यक मुद्दाको दर्ता र सुनुवाइ गर्ने निर्णय गरेको थियो। त्यसयता दोस्रो चरणमा ३१ वैशाखमा केही फराकिलो संवैधानिक व्याख्या र मौलिक हक सम्बन्धी निवेदनको दर्ता र सुनुवाइलाई समेत सुचारु गरेको थियो। त्यसयता जेठ १४ र आज( जेठ २१) को बैठकले पनि सोही निर्णयलाई निरन्तरता दिँदै आएको छ।
जेठ २१, २०७८ शुक्रबार १५:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।