नागरिकता अध्यादेश सम्बन्धी रिटहरू संवैधानिक इजलासमा, वरिष्ठताको आधारमा इजलास गठन
वरिष्ठ अधिवक्ता वोर्ण बहादुर कार्की, अधिवक्ता विष्णुकुमारी गिरी, अधिवक्ता राम बहादुर शाही, अधिवक्ता कुल बहादुर बोगटी, अधिवक्ता वीरभद्र जोशी र मौलिक जरोकिलो पार्टीको तर्फबाट उप–महासचिव लक्ष्मण पोखरेलले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय तथा राष्ट्रपति कार्यालय समेतलाई विपक्षी बनाई रिट दायर गरेका छन्।
यी रिटको सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले वरिष्ठताका आधारमा इजलास गठन गरेका छन्। इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खडका, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडालाई राखिएको छ। इजलासमा वरिष्ठताका आधारमा हरिकृष्ण कार्कीपछि रहेका न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ भने समावेश भएनन्।
सर्वोच्चका अनुसार उनी परिवारमा सङ्क्रमण देखिएपछि आइसोलेसनमा छन्। सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले न्यायाधीश श्रेष्ठ श्रीमतीलाई कोरोना सङ्क्रमण देखिएका कारण आइसोलेसनमा रहेकाले इजलासमा नराखिएको बताए।
नागरिकता अध्यादेश विरुद्धको रिटको सुनुवाइका लागि बेन्च गठन भएको उनले जानकारी दिए। उनले उकेरासँग भने,‘यो इजलास संसद् विघटनको मुद्दाका लागि गठन भएको भनेर बुझ्न मिल्दैन।’
जेठ २१, २०७८ शुक्रबार ११:५०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।