देशभर थप ५३१६ जनामा कोरोना संक्रमण, १०१ को मृत्यु
देशभर हालसम्म ५ लाख ७१ हजार १ सय ११ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आरटी पिसिआर विधिबाट १३ हजार ८ सय ५ र एन्टिजेन विधिबाट ३ हजार ७३ जनाको नमुना परीक्षण गरिएकाे छ।
उक्त अवधिमा कोरोना संक्रमित १ सय १ जनाको शव व्यवस्थापन गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार योसँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुने ७ हजार ५ सय ५५ पुगेका छन्।
पछिल्लो २४ घण्टामा गरिएका नमुना परीक्षणमध्ये आरटी पिसिआर विधिको संक्रमणदर ३२.७ प्रतिशत छ, जसमा सबैभन्दा उच्च संक्रमणदर कर्णाली प्रदेशमा रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा संक्रमण दर ५८.२६ प्रतिशत, प्रदेश १ मा ३९.३७ प्रतिशत र बाग्मती प्रदेशमा ३३.७४ प्रतिशत छ।
पछिल्लो २४ घण्टामा ७ हजार २ सय १९ जना संक्रमणमुक्त भएका छन्। योसँगै देशभर संक्रमणमुक्त हुनेको संख्या ४ लाख ६१ हजार ५ सय ६३ पुगेको छ। देशभर कोरोना संक्रमणमुक्त हुने दर ८०.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
देशभर १ हजार ४ सय ५६ जना संक्रमित सघन उपचार कक्ष (आइसियु)मा र ३ सय ८५ जना भेन्टिलेटरमा उपचाररत छन्।
जेठ १९, २०७८ बुधबार १८:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।