चीनले अनुदानमा दिएको कोरोना खोप हिमाली जिल्लाका १८ वर्ष माथिका व्यक्तिलाई पनि लगाइने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले भेरोसेल खोप हिमाली जिल्लामा १८ वर्ष माथिको उमेर समूहका व्यक्तिलाई लगाउने तयारी भएको जानकारी दिए।
‘चीनसँग सीमा जोडिएका हिमाली जिल्ला हुम्ला, मुगु, डोल्पा, मुस्ताङ, मनाङ, गोरखा, रसुवा, सिन्धुपाल्चोक, दोलखा, सोलुखुम्बु, संखुवासभा र ताप्लेजुङमा खोपको उपलब्धता अनुसार १८ वर्ष माथिका व्यक्तिलाई खोप लगाउने तयारी भएको छ,’ डा. पौडेलले भने।
ती जिल्लामा खोपको उपलब्धता हेरी १८ वर्ष माथिका व्यक्तिलाई खोप लगाइने उनले बताए।
यसअघि सरकारले उक्त खोप देशभरका ६०–६४ वर्ष उमेर समूहका व्यक्तिलाई जेठ २५ गतेदेखि लगाइने जनाएको थियो।
स्वास्थ्य सेवा विभाग अन्तर्गतको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले खोपको दोस्रो मात्रा सुनिश्चित गरेर देशभर खोप लगाइने डा. गौतमले जानकारी दिए। उनका अनुसार देशभर ६०–६४ वर्ष उमेर समूहका करिव साढे ८ लाख व्यक्ति छन्।
जिल्ला खोप केन्द्र समन्वय समितिको समन्वयमा खोप वितरण गरेर लगाइने प्रवक्ता डा. पौडेलले जानकारी दिए।
स्वास्थ्य सेवा विभागअन्तर्गत आपूर्ति व्यवस्थापन शाखाको कोल्ड चेन एण्ड भ्याक्सिन व्यवस्थापन युनिटका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले चार पटकमा ९ लाख ५१ हजार २ सय डोज खोप आइसकेको र बाँकी ४८ हजार ८ सय बुधबार साँझमा आइपुग्ने जानकारी दिए।
यसरी आएको खोपलाई सकेसम्म आजैबाट, नत्र भोलि बेलुकासम्म जिल्लामा पठाइने उनले बताए।
खोप लगाउन छुटेका फ्रन्टलाइनरका लागि यो खोप नलगाइने डा. गौतमले जानकारी दिए। उनले भने, ‘अब छुटपुटको अर्थ छैन। हामीले धेरै पल्ट छुटपुटलाई खोप लगाउन भन्यौं। तर, आएनन्। दिँदा आउँदैन भने पटकपटक उसैलाई मात्रै दिने कुरा हुँदैन।’
१० लाख डोज खोपमध्ये ८ लाख चीन सरकार र बाँकी २ लाख तिब्बत स्वशासित क्षेत्रले प्रदान गरेकोे अधिकृत थापाले जानकारी दिए।
चीनले नेपाललाई ‘सार्स–कोभ–२ भ्याक्सिजन (भेरो सेल), इनएक्टिभेटेड’ खोप उपलब्ध गराएको हो। यो सिनोफार्मको सहयोगमा बेइजिङ इन्स्टिच्युड अफ बायोलोजिकल प्रोडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको खोप हो।
यसअघि पनि चीनले ८ लाख डोज खोप नेपाललाई अनुदानमा उपलब्ध गराएको थियो।
जेठ १९, २०७८ बुधबार १६:५९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।