स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी अध्यादेश जारी गर्ने सरकारको तयारी
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको अध्यादेशको मस्यौदा मन्त्रिपरिषद्को विधेयक समितिले आज टुङ्गो लगाउने मन्त्रालयले जनाएको छ। स्वास्थ्यकर्मीमाथि साङ्घातिक आक्रमणको घटना बढ्दै गएकाले आक्रमण गर्नेलाई कडा कारबाहीको व्यवस्था गरेर अध्यादेश ल्याउन लागिएको कानुन मन्त्री लीलानाथ श्रेष्ठले बताए।
स्वास्थ्यकर्मी माथि हातपात गर्ने, बिरामीको उपचारमा बाध व्यवधान खडा गर्ने, अस्पतालमा तोडफोड आगजनी गर्नेलाई कडा कारबाहीको व्यवस्था राख्न ऐन संशोधन गरेर अध्यादेश ल्याउन लागिएको मन्त्री श्रेष्ठले बताए।
ऐनको सजाय खण्डमा तीन लाख रुपैयाँसम्म जरिवाना वा एक महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजायको व्यवस्था छ। तर, यसलाई संशोधन गरेर न्यूनतम सजाय मतियारलाई ३ वर्ष र मुख्य दोषीलाई ५ वर्ष सजाय तथा गाली गलौच, अपमान तथा सामाजिक सञ्जालमा तथ्यहीन अफवाह फैलाउनेलाई समेत सजायको व्यवस्था गर्ने तयारी सरकारको छ।
मन्त्रिपरिषद्को विधेयक समितिले आज ऐन संशोधन गर्ने र भोलि बस्ने मन्त्रिपरिषद्को बैठकबाट जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने तयारी गरेको कानुन मन्त्रालयले जनाएको छ।
जेठ १९, २०७८ बुधबार १०:३३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।