संसद् विघटनको रिटको पक्षमा बहस गर्ने कानुन व्यवसायीसँग रिसाए प्रधानमन्त्री
पाँच सदस्यीय रहेको इजलासमा रहेका दुई जना न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि रिटको पक्षधर कानुन व्यवसायीहरूले आपत्ति जनाउँदै आएका छन्। यसमध्ये कानुन व्यवसायी श्रेष्ठप्रति अलि बढी नै आक्रामक बनेका छन्। नेकपा नामको विवाद छिनोफानो गर्दा श्रेष्ठले माग दाबी नै नगरेको पार्टी एकतामा प्रवेश गर्दै नेकपाको एकता भङ्ग गर्दै एमाले र माओवादी केन्द्र ब्युँताएका थिए।
कानुन व्यवसायीहरूले त्यसैलाई उदाहरण दिँदै श्रेष्ठ संसद् विघटन विरुद्धको संवैधानिक इजलासमा बस्न नमिल्ने दाबी आइरहेका छन्।त्यही मागप्रति लक्षित गर्दै ओलीले न्यायाधीश प्रश्न उठाउनेहरूलाई उनले अराजकको आरोप लगाए।
युवा सङ्घ नेपालको केन्द्रीय सचिवालय बैठकलाई भर्चुअल सम्बोधन गर्दै ओलीले रिटको पक्षमा बहस गर्ने कानुन व्यवसायीहरूलाई काला कोटधारी भन्दै होच्याएका थिए।
उनले सम्बोधनमा अदालतमै केही कालो कोट लगाएका व्यक्तिहरू र अराजक व्यक्तिहरूले अदालतको मान सम्मान गरिमा र न्यायमूर्ति मान सम्मान गरिमाको ख्याल नराखेर भन्दै आलोचना गरेका थिए।
'वकिलहरूले न्यायाधीश तय गर्ने अब? वकिलहरूले न्यायाधीश तय गर्ने हो भने, वकिलहरूले लेखेर ल्याएको, उनीहरूले पढेर लेखेर सुनाऊ भनेको निर्णय सुनाउने न्यायाधीश चाहियो? उहाँहरूले लेखिदिनुपर्ने अब फैसला पनि? उहाँहरू त्यही चाहिरहनुभएको छ’,ओलीले भने।
उनले वकिलहरूले आफूले लेखेर दिएको फैसला पढेर सुनाउने न्यायाधीश बाहेकलाई मान्दैनौँ, हुन दिँदैनौँ भनिरहेको दाबी गर्दै कालो कोटधारी केही व्यक्तिहरूले न्यायालयलाई कुन अवस्थामा पुर्याउँदै हुनुहुन्छ? कुन हैसियतमा पुर्याउँदै हुनुहुन्छ? भनेर प्रश्न गरेका थिए।
उनले संसद् विघटनको विपक्षमा वक्तव्य निकालेका पूर्वप्रधानन्यायाधीहरुसँग रिसाउँदै पेन्सन खाएर न्यायालयको हुर्मत लिएको भन्दै आलोचना गरेका थिए।
जेठ १७, २०७८ सोमबार २०:५२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।