लुम्बिनी प्रदेश : राष्ट्रियसभा उपनिर्वाचनमा २९६ जनाले गरे मतदान, ४ जनाले हालेनन् भाेट
प्रदेश निर्वाचन कार्यालयका अनुसार कूल ३ सय मतदाता रहेको उपनिर्वाचनमा ८३ प्रदेशसभा सांसद् र २ सय १३ स्थानीय तहका प्रमुख उपप्रमुख गरी २ सय ९६ जनाले मतदान गरेका हुन्।
कार्यालयका सूचना अधिकारी गहेन्द्र कुँवरले उपनिर्वाचनमा स्थानीय तहका चार जनाले भाेट नहालेकाे बताए। बाँकेको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख धवलशमशेर जबरासहित अन्य तीन जनाले मतदान नगरेको कार्यालयले जनाएको छ।
जबराले आज बिहान सामाजिक सञ्जालमार्फत आफू उपनिर्वाचनको मतदानमा सहभागी नहुने बताएका थिए।
दाङको घोराहीस्थित तीन वटा केन्द्रमा बिहान ९ बजे सुरु भएकाे मतदान दिउँसाे ३ बजे सकिएकाे निर्वाचन कार्यालयले जनाएकाे छ।
उपनिर्वाचनको मतगणना साढे ३ बजेपछि सुरु हुने सूचना अधिकारी कुँवरले जानकारी दिए।
एक सिटका लागि भएको उपनिर्वाचनमा नेकपा एमालेका तर्फबाट चन्द्रबहादुर खड्का तथा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका तर्फबाट नेपाली कांग्रेसका दृगनारायण पाण्डेयले उम्मेदवारी दिएका छन्।
यसअघि माओवादी केन्द्रका तर्फबाट राष्ट्रियसभा सदस्य रहेका खड्का एमालेमा प्रवेश गरेपछि माओवादीले कारबाही गरेपछि उक्त पद रिक्त भएको थियो।
जेठ १७, २०७८ सोमबार १५:४९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।